‘लालीबजार’को पछिल्लो साताको कमाइ १२ लाख, अहिलेसम्म कति पुग्यो ?

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजनिक गरेको आइतबारसम्मको बक्सअफिस विवरण अनुसार यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ले ९ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ ग्रस कमाइ गरेको छ ।

सिनेपाः बक्स अफिसमा गत साताको बक्सअफिस विवरण अनुसार यो चलचित्रले ३१ गतेसम्म ९ करोड १६ लाख ६५५ रूपैयाँ ग्रस कमाइ गरेको थियो । उक्त कमाइ हुँदा फिल्मको ३ लाख ११ हजार ४०३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।

यो चलचित्रले पछिल्लो एक सातामा मात्रै थप १२ लाख १३ हजार ८५० रूपैयाँ कमाएको छ । गत सातासम्म ३ लाख ११ हजार ४०३ जनाले चलचित्र हेरेकोमा, पछिल्लो एक सातामा थप ४ हजार ३२१ दर्शक हलसम्म पुगेका छन् ।

यससँगै हालसम्म यो चलचित्र हेर्ने कुल दर्शकको संख्या ३ लाख १५ हजार ७२४ पुगेको छ ।

‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।