सिनेमा निर्माणलाई खेलाँची नसम्झौँ, यसमा गम्भीर बन्ने गरौँ

नेपाली चलचित्रलाई स्वयं चलचित्रकर्मीहरूले कति हल्का रुपमा लिन्छन् भन्ने पछिल्लो उदाहरण चलचित्र ‘टिका’ हो । यो चलचित्रको छायांकन रोकेर निर्माण टिम बीचमै काठमाडौं फर्कियो ।

पोखरामा छायांकन सुरु भएको हप्ता दिन भएको थियो । तर, निर्माताले स्क्रिप्ट चित्त नबुझेको भन्दै छायांकन रोकिदिए । र, निर्माण टिम स्टोरीलाई थप बलियो बनाएर मात्रै छायांकन गर्ने भनेर फर्कियो ।

यो पछिल्लो उदाहरण हो, यस्ता सिनेमा थुप्रै छन् । जो स्क्रिप्ट मन नपरेपछि रोकिए ।

एउटा नाम चलेकै ब्यानर र निर्देशकले एक दिन स्क्रिप्ट लेखेर अर्को दिन छायांकन गरेर सिनेमा निर्माण गरेको खबर आएको थियो ।

यसले के देखाउँछ भने, आफ्नो कामप्रति चलचित्रकर्मीहरू गम्भीर छैनन् । मजाक–मजाकमै चलचित्र बनाइरहेका छन् । मजाक–मजाकमा बनेको सिनेमा कसरी राम्रो हुन्थ्यो ?

कति सिनेमाका निर्माता यस्ता छन्, जसलाई सिनेमा निर्माणको प्रोसेस समेत प्रोपर थाहा हुँदैन । कति निर्माता यस्ता छन्, जो विदेशमा छन् । उसले निर्देशक वा लेखक वा नेपालमा रहेको कोही चलचित्रकर्मीलाई भरोसा गरेर पैसा पठाएर सिनेमा निर्माण गरिरहेको हुन्छ । उसले मेकरलाई पूर्ण रुपमा विश्वास गरेर करोडौैं रुपैयाँ चलचित्रमा लगानी गरिरहेको हुन्छ ।

यता, मेकर भने सिनेमा निर्माणमा गम्भीर हुँदैन । बिहान स्क्रिप्ट लेखेर दिउँसो सुटिङ गर्छ । अघिल्लो दिन स्क्रिप्ट लेखेर भोलिपल्ट सुटिङ गर्छ ।

हरेक राइटरलाई सिनेमा लेख्न वर्षौं लाख्छ र लगाउनै पर्छ भन्ने होइन । राम्रो स्किल भएको लेखकले छिट्टै पनि राम्रो स्क्रिप्ट लेख्न सक्ने क्षमता राख्छ होला । तर, क्षमता छ भन्दैमा अघिल्लो दिन लेखेर भोलिपल्ट सुटिङ गर्ने अनि फेरि एक दिन प्राविधिकलाई रेस्ट दिएर त्यो दिन स्क्रिप्ट लेखेर अर्को दिन त्यही स्क्रिप्ट खिच्नु भनेको त पक्कै राम्रो होइन ।

छायांकन सुरु भइसकेपछि बीचमै रोकेर फर्किनु राम्रो होइन, यो स्क्रिप्ट लेखनको फेजमा यसमा ध्यान नदिँदाको परिणाम हो । सिनेमा छायांकनमा जान हतार गर्नुभन्दा पनि पहिला सिनेमाको कथालाई लिएर मेकर गम्भीर हुनैपर्छ । स्क्रिप्ट राम्रो भए न सिनेमा राम्रो बन्छ । स्क्रिप्ट नै राम्रो छैन भने चलचित्र कसरी राम्रो बन्छ र ?

जग नै कमजोर छ भने त्यसमा बनेको घर पनि बलियो हुँदैन । त्यसैले सिनेमा निर्माणलाई खेलाँची नसम्झौँ, यसमा गम्भीर बनौँ ।