को हुन् ‘बा : एक योद्धा’का अभिनेता अनिल बुढाथोकी ?
काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेका छन् । विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा रहेको निर्माण टिमले चलचित्रमा अनिल बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ ।
अनिल तिनै कलाकार हुन्, जसले चलचित्र ‘कर्मा’मार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ प्रस्तुत गरेका थिए । डेब्यू चलचित्र ‘कर्मा’बाट नै उनले दर्शकको मन जितेका थिए । तर, यो सिनेमा बक्सअफिसमा धेरै नचलेकाले अनिलको काम धेरैले भने हेर्न पाएनन् । ‘कर्मा’का उनी विपिन कार्कीपछि सेकेन्ड लिड रोलमा थिए ।
अनिलका लागि ‘बा : एक योद्धा’ दोस्रो सिनेमा हो । “मलाई पहिलो सिनेमाबाट जसरी माया पाएँ, यो चलचित्रमा पनि त्यही अपेक्षा गरेको छु,” अनिल भन्छन्, “पहिलो सिनेमाका कमजोरी सुधार गरेर यसमा थप सुधार्ने प्रयास गरेको छु ।”
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।
यो चलचित्रमा अनिलसँगै झरना थापा, सुहाना थापा, अभिनेता दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

