‘तरंग’को प्रदर्शन मिति घोषणा, को-को छन् कलाकार ?

काठमाडौं । प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय चलचित्र ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ ।

दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार चौधरीको डेब्यू निर्देशकीय सिनेमाको शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

देवदत क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने छ ।

निर्देशक तथा अभिनेता चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक ‘वरिष्ठ बलराम’ मा देखिएका थिए । ‘होस्टेल रिटर्न्स’ पछि चौधरीलाई धेरैले पिके डनको रुपमा चिन्छन् ।

निर्माण टिमले प्रदर्शन मितिसँगै सार्वजनिक गरेको पोस्टरमा प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा फिचर्ड छन् । मोडलिङबाट चर्चा पाइरहेका बरुण यही सिनेमाबाट ठूलो पर्दामा डेब्यू गर्दै छन् ।

यस्तै, चलचित्रमा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी पनि प्रमुख भूमिकामा छन् ।

तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलले छायांकन गरेको चलचित्रमा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत छ ।

चलचित्रका गीतहरूमा सुगम पोखरेल, मेलिना राई, पवन गिरी, मनोज महतो, मनोज थापा मगरले स्वर भरेका छन् । पाश्र्व ध्वनी मनिष निरौलाको छ ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको चलचित्रलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै आएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा फिल्म तयार भएको जनाइएको छ ।

यो चलचित्रको निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ । चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दैछन् ।