‘१२ गाउँ’ फेम न्यान्सीको ‘अक्षरा’मा भिन्न अवतार
काठमाडौं । विनय राज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ ।
तीजको छेको पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले प्रचारप्रसार स्वरूप सिनेमाकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर्ड गर्दै पहिलो पोस्टर सार्वजनिक गरेको हो ।
चलचित्रको कथावस्तु र पात्रको मनोदशा बोल्ने सार्वजनिक पोस्टरमा न्यान्सी ढुङ्गे चौतारोमा एक्लै गम्भीर तथा निराशा भावमा बसेकी छिन् । उनको अनुहारमा हाँसो छैन, बरु एक प्रकारको गम्भीरता, शून्यता र निराशा झल्किन्छ। उनी कतै टाढा टोलाइरहेकी देखिन्छिन्, जसले उनको पात्र कुनै गहिरो मानसिक द्वन्द्व वा विरहको अवस्थामा रहेको सङ्केत गर्छ ।
पोस्टरको पृष्ठभूमिमा पात झरेका र नाङ्गा रुखहरू देखिन्छन् । यी उजाड रुखहरूले जीवनको सङ्घर्ष, एक्लोपन र शून्यतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । पहेँलो र सुन्तला रङ्गको समिश्रण रहेको आकाशले सूर्यास्तलाई दर्शाउँछ, जसले कथामा केही अन्त्य वा नयाँ मोडको आभास दिलाउँछ ।
मिस नेपाल इन्टरनेसनल २०२२ समेत रहेकी न्यान्सीले यसअघि ब्लकबस्टर सिनेमा ‘१२ गाउँ’ मार्फत दर्शकको मन जितिसकेकी छिन् । ‘१२ गाउँ’ मा एक्सन र ग्ल्यामर अवतारमा देखिएकी न्यान्सी ‘अक्षरा’ मा भने निकै गम्भीर र चरित्रप्रधान भूमिकामा देखिने निश्चित भएको छ । यस्तै, उनी हाल अनमोल केसीको आगामी चलचित्र ‘बाटुलो जुन’ मा पनि देखिने छिन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा न्यान्सीका साथमा सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदिप धुलुङ्, बिश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेल मुख्य भूमिकामा देखिनेछन् । यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले अभिनय गरेका छन् ।
यस चलचित्रलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले निर्माण गरेका हुन् । सिनेमाको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने यसका कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योती न्यौपाने रहेका छन् ।
सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस चलचित्रको पटकथा लेखनमा चर्चित लेखक अभिमन्यु निरवीले निर्देशक पौडेललाई साथ दिएका छन् ।
चलचित्रमा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाको गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र दिपेन बस्न्यातको छायांकन र रेनिस फागोको रङग सम्पादन रहेको छ ।
यस चलचित्रलाई नेशनल सिने ग्रुप नेपाल प्रा.लीले देशभर वितरण गर्ने जिम्मा लिएको छ ।

