वृद्धाश्रमको पीडा र आमाको महिमा बोल्ने ‘झिंगे दाउ २’ को मर्मस्पर्शी गीत ‘महिमा आमाको’ सार्वजनिक
काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिंगे दाउ २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर ‘महिमा आमाको’ बोलको गीत रिलिज गरेको हो ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपालको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको सार्वजनिक गीतले आमाको ममता र वर्तमान समाजको तितो यथार्थलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
संविधान दिवसको अवसर पारेर आगामी असोज २ गतेबाट रिलिजमा आउने यो चलचित्रको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ ।
सार्वजनिक ‘महिमा आमाको’ बोलको गीतको भिडियोलाई कलात्मक र भावनात्मक रूपमा तयार पारिएको छ । भिडियोमा मन्दिरको प्राङ्गण, सांस्कृतिक परिवेश र परम्परागत नेपाली भेषभुषालाई सुन्दर ढंगले चित्रण गरिएको छ ।
भिडियोको मुख्य विशेषता यसमा देखिएका कलाकारहरूको अभिनय हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथिको भूमिकामा देखिए पनि गीतको भावलाई थप उचाई दिएका छन् । मदनकृष्णको सालिनता र मिथिलाको भावुक मुद्राले दर्शकलाई सुरुदेखि नै गीतमा बाँधिराख्छ ।
भिडियोमा चलचित्रका मुख्य कलाकारहरू आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवीलाई पनि फिचर गरिएको छ । विशेषगरी, भिडियोमा एकातिर आमाको महिमा गाउँदै उत्सव मनाइरहेको दृश्य छ भने अर्कोतिर वृद्धाश्रममा बस्न बाध्य आमाहरूको आँखामा झल्किएको एक्लोपन र आँसुलाई कोरियोग्राफर रामजी लामिछानेले निकै मेहेनतका साथ देखाएका छन् । सयौं कोरसहरूको साथमा खिचिएको यो भिडियो भव्य हुनुका साथै सन्देशमूलक पनि छ ।
‘झिंगे दाउ २’ मा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोदकुमार पौडेलको अभिनय छ ।
सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको यस चलचित्रका विष्णु घिमिरे ‘कल्पित’ डीओपी हुन् ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
तीन वर्षअघि बक्स अफिसमा ‘सुपरहिट’ सावित भएको ‘झिंगे दाउ’ को सफलतापछि निर्माण भएको यो सिक्वेलप्रति दर्शकमा निकै ठूलो उत्सुकता देखिएको छ ।
पारिवारिक कथावस्तुमा आधारित यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।

