ब्लकबस्टर निर्देशक प्रदीप भट्टराई, जसका सबै सिनेमाले मनाएका छन् ५१ औँ दिन

काठमाडौं । प्रदीप भट्टराई नेपाली सिनेमा उद्योगका एक सफल निर्देशक हुन् । किनकी उनले निर्देशन गरेका सबै चलचित्र बक्सअफिसमा सफल छन् ।

बक्सअफिसलाई मात्रै सफलताको मानक मान्ने हो भने उनी ब्लकबस्टर निर्देशक हुन्, किनकी उनले निर्देशन गरेका कुनै पनि चलचित्र असफल भएका छैनन् ।

‘जात्रा’बाट उनले सिनेमा निर्देशन सुरु गरेका थिए । ‘जात्रा’ पछि ‘शत्रुगते’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ उनले निर्देशन गरेका चलचित्र हुन् ।

यी सबै चलचित्र बक्सअफिसमा सफल छन्, त्यसैले उनलाई नेपाली सिनेमाका हिट निर्देशक मानिन्छ । थुप्रै सिनेमा निर्देशन गर्दा एउटा ब्लकबस्टर सिनेमा दिन पनि कठिन हुने सिनेमा उद्योगमा निर्देशन गरेजति सबै चलचित्र हिट बनाउन त्यति सजिलो छैन । तर, प्रदीपले भने सबै चलचित्र हिट दिएका छन् ।

उनी कार्यकारी निर्माता रहेको चलचित्र ‘लालीबजार’ पनि हिट भएको छ । त्यसैले यो सिनेमा पनि हेर्दा उनका अधिकांश चलचित्र हिट भएका छन् भन्न सकिन्छ ।

उनका सबै चलचित्रले ५१औँ दिन मनाएका छन् । एक हप्ता पनि हलमा टिक्न अधिकांश चलचित्रलाई कठिन हुने गरेको अवस्थामा प्रदीपका भने सबै चलचित्रले ५१औँ दिन मनाएका छन् । त्यसैले उनलाई ब्लकबस्टर निर्देशक भन्न सकिन्छ ।

‘लालीबजार’ ले शनिबार मात्रै ५१ औं दिन मनाएको थियो । यसले नेपालमा मात्रै ९ करोड ३१ लाख रुपैयाँमाथिको ग्रस व्यापार गरेको छ । यो चलचित्रका निर्देशक भने यम थापा हुन् ।

चलचित्र ‘शत्रुगते’ले १२ करोड ६५ लाख रुपैयाँ ग्रस कमाएको थियो । त्यस्तै, ‘महापुरुष’ ले ७ करोड ३५ लाख र ‘महाजात्रा’ ले १५ करोड ६७ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

निर्देशक प्रदीप भट्टराईले आर्टखबरलाई दिएको जानकारीअनुसार ‘जात्रा’को कमाइ २ करोड ७५ लाख र ‘जात्रै जात्रा’को ७ करोड ५० लाख रुपैयाँ थियो । चलचित्र विकास बोर्डको ३१ ब्लकबस्टर फिल्मको सूचीमा ‘जात्रै जात्रा’ किन परेन् अनविज्ञ रहेको उनले बताए ।