नेपाली सिनेमाको ‘महाभिडन्त’, कान्स विजेतादेखि सन्तानका लागि लड्ने ‘योद्धा’ सम्म एउटै मितिमा
काठमाडौं । आगामी भदौ १९ गते नेपाली चलचित्र बक्सअफिसमा निकै रोचक हुने देखिएको छ । विभिन्न विधा र विषयवस्तुमा आधारित चार चलचित्रले सोही मितिलाई आफ्नो प्रदर्शन मिति तोकेपछि बक्सअफिसमा चार सिनेमाको भिडन्त हुने निश्चित जस्तै देखिएको हो ।
दर्शकलाई फरक-फरक स्वाद दिने भएता पनि भदौ १९ मा हुने यी चार चलचित्रको भिडन्तले नेपाली सिनेमा बजारमा हल संख्यालाई लिएर निर्माताहरूबीच ठूलो ‘तछाडमछाड’ सिर्जना गरेको छ ।
यो मितिमा हरि लम्सालको निर्देशनमा तयार भएको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसीको विशेष अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमा हो । नामले नै स्पष्ट पारेझैं, यो सिनेमाले एउटा बुबाले आफ्ना सन्तानको सुन्दर भविष्यका लागि गर्ने त्याग, समर्पण र जीवनको कठोर संघर्षलाई पर्दामा उतार्ने बताइएको छ ।
यस चलचित्रमा अभिनेता दिव्यदेव पन्तका साथमा चर्चित अभिनेत्री झरना थापा र सुहाना थापाको मुख्य अभिनय रहेको छ । अनिल बुढाथोकी, शिशिर सिवाकोटी र सुप्रज्ञा शर्मा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमाले पारिवारिक दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएको चलचित्र ‘एलिफेन्ट्स इन द फग’ पनि यही दिनबाट प्रदर्शनमा आउँदैछ । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फ ‘जुरी प्राइज’ जितेर इतिहास रचेको यो फिल्म अविनास विक्रम शाहको लेखन तथा निर्देशनमा बनेको हो ।
सन् २०२७ को ओस्कार अवार्डमा नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्ने उद्देश्यसहित यो फिल्म भदौमा रिलिज गर्न लागिएको हो । ओस्कारको मापदण्ड अनुसार कम्तीमा सात दिन हलमा प्रदर्शन हुनुपर्ने प्रावधानका कारण यसलाई भदौ १९ को मिति तय गरिएको हो ।
जंगली हात्तीको आतंक र अल्पसंख्यक समुदायको कथा बोकेको यस फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ र पुष्पा थिङ लामाको सशक्त अभिनय छ ।
यसैगरि, ‘कमेडी दरबार’ टिमले निर्माण गरेको चलचित्र ‘ककाकिकी’ यसै दिनको अर्को सिनेमा हो । यो चलचित्रलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेका छन् ।
यस चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दीया मास्के, मनोज गजुरेल लगायतका दुई दर्जनभन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन् ।
भदौ १९ को भिडन्तमा सामेल भएको पछिल्लो चलचित्र हो, ‘चंगुल’ । राम गौतमको निर्देशन र मालती कार्कीको निर्माणमा बनेको यो फिल्मले समसामयिक राजनीतिक र सामाजिक मुद्दालाई उठाएको छ । विशेष गरी भ्रष्टाचारले थिलथिलो भएको देश र त्यसका विरुद्ध उठेको ‘जेनजी’ पुस्ताको विद्रोहलाई यसले समेटेको छ ।
गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलन र त्यसमा ज्यान गुमाउने सहिदहरूको सम्झना स्वरुप यो फिल्म रिलिज गर्न लागिएको निर्माण पक्षको भनाइ छ । फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिम्सिना र बालकलाकार रिम्सा कार्कीको अभिनय रहेको छ ।
एकै दिन चारवटा फिल्म प्रदर्शन हुँदा हल संख्या र शो वितरणमा ठूलो समस्या पर्न सक्ने छ । यद्यपि, विधागत रूपमा चारै फिल्म फरक छन् । ‘बाः एक योद्धा’ ले पारिवारिक संवेदना, ‘एलिफेन्ट्स इन द फग’ ले कलात्मक र अन्तर्राष्ट्रिय मानक, ‘ककाकिकी’ ले स्टार पावर र मनोरञ्जन, तथा ‘चंगुल’ ले युवा राजनीतिलाई समेटेका छन् ।
अब दर्शकले कुन फिल्मलाई रुचाउने हुन्, त्यो भने भदौ १९ पछि नै थाहा हुनेछ । तर, नेपाली फिल्म क्षेत्रका लागि यो ‘महाभिडन्त’ निकै रोचक हुने पक्का छ ।

