‘तिरिमिरी झ्याइँ’बाट ठूलो पर्दामा डेब्यू गर्दै सुमन कोइराला
काठमाडौं । हास्यव्यङ्ग्य विधामा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को निर्माण घोषणा गरिएको छ ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको बिहीबार राजधानीमा एक समारोहका बीच औपचारिक घोषणा गरिएको हो ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको यस चलचित्रलाई समीर जोशीले निर्देशन गर्दैछन् । यही असार २९ गतेबाट छायाकंन सुरु हुने बताइएको चलचित्रको मुहूर्त शटसँगै निर्माण यात्रा विधिवत् रूपमा अगाडि बढेको निर्माण टिमले जनकारी गराएको छ ।
यस चलचित्रबाट ‘दले दाइ’ नामबाट स्ट्यान्डअप कमेडियन सुमन कोइरालाले अभिनेताको रूपमा ठूलो पर्दामा डेब्यू गर्दैछन् । टेलिभिजन रियालिटी शोमा आफ्नो बेग्लै पहिचान बनाएका सुमनले यसै चलचित्रमार्फत ठूलो पर्दामा अभिनेताको रूपमा पाइला टेक्न लागेका हुन् ।
चलचित्रमा सुमनसँगै अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ ।
यो चलचित्रको सह-निर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा छन् ।
गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन् । विशाल कक्षपतिको छायाङ्कन रहने यो चलचित्रमा अभिषेक कार्की सङ्गीतकार, करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।
चलचित्रमा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टायल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ ।
मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले यो चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र विशुद्ध हास्यव्यङ्ग्यको भरपुर मनोरञ्जन पस्कने विश्वास व्यक्त गरे । त्यस्तै, चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले एउटा उत्कृष्ट पारिवारिक कमेडी फिल्म बनाउने उद्देश्यका साथ अगाडि बढेको बताउँदै सम्पूर्ण टिमको मिहिनेतले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको धारणा राखे । कथाकारसमेत रहेका कार्यकारी निर्माता आभास अधिकारीले आफ्नै समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरिएको प्रस्ट्याए ।

