तीन वर्षपछि निर्देशनमा फर्किए गुरुङ, दोस्रो सहकार्य गर्दै ‘परान’ जोडी
काठमाडौं । नयाँ चलचित्र ‘आशा’ निर्माण हुने भएको छ । उडान स्टुडियोको लगानीमा बन्ने यो सिनेमाको एक समारोहको आयोजना गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो ।
शर्मिला थापाको लगानीमा बन्न लागेको यो चलचित्रलाई राजिव गुरुङले निर्देशन गर्नेछन् । अभिनेता सारुक ताम्राकारको निधन भएपछि निर्माणकै क्रममा रोकिएको सिनेमा ‘ह्यासट्याग माया’का निर्देशक गुरुङ यो चलचित्र मार्फत तीन वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
यो सिनेमाको बिहीबार घोषणा कार्यक्रममा ११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचन गर्दै चलचित्रको नाम र कलाकारको परिचय गराइएको थियो ।
‘आशा’को मुख्य कलाकारका रूपमा महेश त्रिपाठी र अन्जना बराइली देखिनेछन् । करिब आठ महिना अघि प्रदर्शनमा आएको चलचित्र ‘परान’ मा एकसाथ काम गरेका यो जोडीको यो दोस्रो सहकार्य हो । ‘परान’ बाट रुचाइएको यो जोडीले ‘आशा’ मा कस्तो भूमिका निभाउनेछन् भन्ने बारे निर्माण पक्षले थप जानकारी खुलाएको छैन ।
यी दुईका अलावा चलचित्रमा सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।
निर्मात्री शर्मिला थापाका अनुसार यो चलचित्र पूर्णरुपमा एउटा परिवारको कथा हो । मानिसहरू आधुनिकता र व्यस्तताका कारण परिवारसँग टाढिँदै गएको वर्तमान समयमा यो फिल्मले परिवारको महत्त्व बुझाउने उनको दाबी छ ।
‘आशा पूर्णरुपमा पारिवारिक फिल्म हो । हामीलाई अहिले परिवारसँग समय बिताउने पनि फुर्सद हुँदैन, छैन । तर, त्यहि परिवार अपूर्ण हुँदा नभएको सदस्यको महत्व झल्किन्छ, महसुश हुन्छ,’ उनले भनिन्, ‘यो एउटा परिवारको बालकदेखि वृद्धसम्मका दर्शकले हेर्नुपर्ने फिल्म बन्नेछ । हामीले विदेशीलाई समेत हाम्रो कथा गर्व साथ देखाउन सक्ने गरी आफनै कथालाई पर्दामा ल्याउँदैछौँ ।’
निर्देशकसँगै कथाकार रहेका गुरुङले यो चलचित्रलाई मनदेखि नै तयार गर्न लागिएको बताउँदै सिनेमाले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए ।
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुँदैछ, अहिले हामीले घोषणा गर्दैछौँ, यसको छायांकन सकिएपछि बाँकि जानकारी दिनेछौँ’, उनले भने ।
अभिनेता महेश त्रिपाठीले चलचित्रको विषयले आकर्षित गरेर फिल्ममा जोडिएको बताए । ‘यसको कथा बनिरहेका भन्दा फरक छ, एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु । यो चलचित्रले फिल्मका रुपमा दिने मनोरन्जनसँगै हामीलाई केही दिन्छ’, अभिनेता त्रिपाठीले भने ।
चलचित्रमा पुराना प्राविधिकलाई नगद राशिसहित सम्मान गरिएको थियो । विसं २०४६ सालमा प्रदर्शन भएको चलचित्र ‘अन्याय’ मार्फत भेषभूषामा काम गर्नुभएका प्राविधिक कमल मिश्रलाई नगदराशी ५१ हजारसहित दोसल्लाह ओढाएर चलचित्रकी निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रुपमा सम्मान गरेका थिए ।
चलचित्रमा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, चलचित्रमा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।
यो चलचित्रलाई आगामी माघ १ गते प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

