‘लोक दोहोरी स्टार सिजन–२’ अडिसन हुँदै
काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ ।
एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको यो शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रिय स्तरको अवसर उपलब्ध गराउने उद्देश्यले यसपटक सातै प्रदेशलाई समेट्ने गरी अडिसन अभियान सञ्चालन गर्न लागिएको हो। शोको निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार तथा चन्द्र शर्मा छन् ।
आयोजकका अनुसार पहिलो संस्करणको सफलतासँगै दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ । जस अनुसार अडिसन कार्यक्रमको सुरुवात असार २७ गते इटहरीबाट हुनेछ। त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, श्रावण १ गते नेपालगञ्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ ।
इटहरीको क्लब के, चितवनको चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ ।
आयोजकले नेपाली लोक गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने जनाएको छ ।

