बिना प्रचार हलमा उत्रियो ‘भागदौड’
काठमाडौं । देशभरका सिनेमा घरमा शुक्रबारबाट हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘भागदौड’ प्रदर्शनमा आयो ।
खासै प्रचारबाजी नगरी सुटुक्क हलमा आएको यो चलचित्र रिलिज भएको धेरैले पत्तै पाएका छैनन् । सामान्यतया चलचित्र प्रदर्शनमा आउनुअघि ट्रेलर, गीत र कलाकारको अन्तर्वार्तामार्फत माहोल बनाउने गरिन्छ । तर ‘भागदौड’को हकमा निर्माण पक्षले मौनता अपनाएको देखिन्छ ।
प्रचारप्रसारको अभावमा चलचित्र कहिले र कहाँ रिलिज भयो भन्नेबारे धेरै दर्शक अनभिज्ञ छन् । दर्शकलाई हलसम्म तान्न यो सिनेमाले ठूलै चुनौती सामना गर्नुपर्ने देखिन्छ । ‘सुटुक्क’ हलमा आइपुगेको यसले बक्स अफिसमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न यतिबेला बनेको छ ।
प्रचारप्रसार नभएकै कारण यो चलचित्रले सीमित शो पाएको छ । देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा प्रदर्शनमा आएन । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा भने सीमित शोसहित रिलिज गरिएको छ । राजधानीसहित देशका अधिकांश हलमा पनि यो सिनेमाले न्यून शो मात्र पाएको देखिन्छ ।
यो चलचत्रिले देशभर गरि शनिबारका लागि २४ शो पाएको देखिन्छ भने आइतबारका लागि ४ शो पाएको छ । प्रचारप्रसार नगरी आएको यस सिनेमाले दर्शकको ध्यान तान्न सक्छ कि सक्दैन चासोको विषय छ ।
अहिलेको प्रतिस्पर्धात्मक बजारमा प्रचारबिना चलचित्र चलाउनु निकै जोखिमपूर्ण मानिन्छ । यद्यपि, कहिलेकाहीँ राम्रो कथावस्तु भएका सिनेमाले बिस्तारै गति लिने गरेका उदाहरण पनि छन् । नाम ‘भागदौड’ भए पनि यसको सुरुवाती व्यापारिक यात्रा भने निकै सुस्त देखिएको छ । के यो चलचित्रले दर्शकको ध्यान खिच्दै हलमा टिकिरहन सक्ला त ? त्यो हेर्न भने केही दिन कुर्नु नै पर्नेछ ।
सामाजिक ड्रामा रहेको ‘भागदौड’ ले समाजका विविध पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुभाष तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रको निर्माता विश्वराम विष्ट हुन् । अंगिरा थापा कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । सुप्रिम म्युजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ ।

