गणेश नेपालीको निधनले निम्त्याएको ‘आक्रोश’: कलाकारहरू भन्छन्- ‘यो आत्महत्या होइन, राज्यले गरेको हत्या हो’
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय राइड सेयरिङका राइडर गणेश नेपालीको निधन भएको छ । बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका सोरु गाउँपालिका–१ का नेपालीको शुक्रबार बिहान उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
एक युवाले बीच सडकमै मृत्यु रोज्नुपर्ने बाध्यात्मक परिस्थितिले यतिबेला सामाजिक सञ्जाल तातिएको छ । सर्वसाधारणदेखि कलाकारसम्मले यस घटनालाई राज्यको असफलता र प्रशासनिक संवेदनहीनताको उपज भन्दै सरकारको कडा आलोचना गरिरहेका छन् ।
कलाकारहरूले यो घटनालाई प्रत्यक्ष वा अप्रत्यक्ष शैलीमा राज्यले गरेको ‘हत्या’ भनेका छन् ।
अभिनेत्री पूजा शर्माले गणेश नेपालीको मृत्युलाई सामान्य दुर्घटना मान्न अस्वीकार गरेकी छिन् । फेसबुकमा एक आक्रोशपूर्ण स्ट्याटस लेख्दै उनले यसलाई ‘राज्यद्वारा गरिएको हत्या’ को संज्ञा दिएकी छिन् ।
उनले लेखेकी छिन्, “उनी एक मानव थिए, सपना बोकेका नागरिक थिए तर निर्दयी प्रशासनिक व्यवस्थाको बोझले थिचिए । यो कुनै सामान्य घटना होइन, यो राज्यको गम्भीर लापरवाहीको परिणाम हो । यो हत्या हो ।”
विशेष गरी सरकार लक्षित गर्दै पूजाले प्रश्न गरेकी छिन्, “तपाईंहरू आफूलाई नयाँ नेपालका नयाँ नेता भन्नुहुन्छ, तर नागरिकका लागि योजना खोइ ? हामीले त देश अन्धकारतर्फ धकेलिएको मात्र देखिरहेका छौँ ।” उनले कर्मचारीलाई दोषी देखाएर नेताहरू पन्छिन नहुने भन्दै नैतिकताका आधारमा जिम्मेवारी लिन सरकारलाई चुनौती दिएकी छिन् ।
दीपकराज गिरी भन्छन्- ‘सरकारको पहिलो विकेट पतन’
कलाकार तथा निर्माता दीपकराज गिरीले सरकारको नीति-नियममाथि प्रश्न उठाउँदै टिप्पणी गरेका छन् । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको सङ्केत गर्दै उनले लेखेका छन्, “अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।”
गिरीको यो टिप्पणीले गणेश नेपालीको मृत्यु व्यक्तिगत समस्या मात्र नभएर सरकारको निर्मम नीति र व्यवहारको परिणाम भएकोतर्फ संकेत गरेको छ ।
यस्तै, अर्का कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गणेश नेपालीको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।
सामाजिक काममा सक्रिय रहँदा आफैँले भोगेका प्रशासनिक अड्चन र मानसिक दबाबलाई स्मरण गर्दै उनले गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन् ।
धुर्मुसले फेसबुकमा लेखेका छन्, “लामो समयदेखि पीडा र उकुसमुकुसका बीच बाँचिरहेको म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु । राज्य सबै नागरिकको साँचो अभिभावक बनोस् र अब फेरि कसैले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नु नपरोस् ।”
उनले देशमा श्रमको सम्मान गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । तर, उनको यो पोष्टमा कतिपयले ‘आफ्नो व्यक्तिगत एजेन्डा’ जोडेको भन्दै आलोचना समेत गरेका छन् ।
प्रेमप्रसाद आचार्यदेखि गणेश नेपालीसम्म आइपुग्दा, काठमाडौँका सडकमा आत्मदाहको प्रयास हुने घटनाहरू बढ्दो छ । गणेश नेपालीको मृत्युले अहिले सरकारमाथि नैतिक दबाब सिर्जना गरेको छ । सामाजिक सञ्जालमा ‘जवाफदेहिता’ को माग गर्दै हजारौँले आवाज उठाइरहेका छन् ।

