चलचित्र ‘हजारौंमा एक’ निर्माण घोषणा

काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ ।

एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको यो चलचित्र रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको हो ।

चलचित्रको निर्देशन सुव्रत आचार्यले गर्नेछन् । चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन् । उनी नै चलचित्रकी प्रस्तुत कर्ता पनि हुन् ।

दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने चर्चित छायाकार हरि हुमागाई चलचित्रका डीओपी रहने निश्चित भएको छ

चलचित्रको मूल भाषा नेपाली रहने भए पनि यसलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले मलियालम र हिन्दी भाषामा समेत डबिङ गरिनेछ ।

चलचित्रका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलियालम चलचित्र उद्योगसँग आबद्ध रहेका छन् ।

मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी केही समयपछि चलचित्रको अफिसियल फर्स्ट लुक सार्वजनिक गर्ने क्रममा गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा मलियालम चलचित्र उद्योगका केही कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहने निर्देशक आचार्यले जनाए ।

चलचित्रको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य चर्चित लेखक शान बस्नेतले गरिरहेका छन् । चलचित्रको छायांकन यसै वर्षको फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ ।

निर्माण पक्षका अनुसार चलचित्रका अधिकांश प्रमुख भूमिकामा नेपाली कलाकारहरूको अभिनय रहनेछ ।

करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण र भव्य परियोजनाका रूपमा हेरिएको छ ।