फेरि एक्सन भूमिकामा कविता

काठमाडौं । अभिनेत्री तथा मोडल कविता नेपाली नयाँ चलचित्र ‘एक्का तीन’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएकी छन् ।

निर्देशक रुपेश तामाङको निर्देशनमा निर्माण हुने सिनेमाका लागि कविताको जन्मदिनको अवसर पारेर निर्माण टिमले अनुबन्धको औपचारिक घोषणा गरेको हो ।

यसअघि नै चलचित्रका लागि अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का अनुबन्धित भइसकेका छन् । कविता नेपालीको प्रवेशसँगै चलचित्रको मुख्य कलाकार टोली पूरा भएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक तामाङका अनुसार ‘एक्का तीन’ एक्सन जनराको सिनेमा हो । उनले कविता नेपालीको एक्सन अभिनय दर्शकमाझ रुचाइएको भन्दै सोही कारण उनलाई सिनेमामा अनुबन्ध गरिएको बताए ।

उनका अनुसार सिनेमामा पूजा र कविताबीच प्रतिस्पर्धा देख्न पाइनेछ । तीन मुख्य पात्रको कथामा आधारित सिनेमा जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो भने यसको कथा तथा पटकथा सुमन गजमेरले तयार पारेका छन् ।

कविता नेपाली यसअघि ‘एक्लो’मा एक्सन भूमिकामा देखिएकी थिइन् ।

चलचित्रको छायाङ्कन भदौदेखि सुरु हुने तयारी छ ।