सजिलो छैन विजयलाई, तर किन ?
काठमाडौं । अभिनेता विजय बरालको हातको हड्डी फ्याक्चर हुँदा चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन झण्डै डेढ महिना रोकिन पुग्यो । हातको प्लास्टर खोलेपछि विजय सिनेमाको सेटमा पुगे । निर्देशक निर्देशक सरोज पौडेलले क्यामेरो रोल गरे ।
चलचित्रको छायांकन त जहाँ रोकिएको थियो, त्यहीँबाट सुरु भयो । तर, विजयको फ्याक्चर भएको हातको हड्डी भने पूर्ण रुपमा ठिक भइसकेको छैन । त्यसैले उनी एकसाथ हातको उपचार गराउँदै अभिनय गरिरहेका छन् ।
आफ्नो सिनमा जब ग्याप हुन्छ, विजय पर्वतको कुस्माबाट पोखरा ओर्लिन्छन् र हातको थेरापी गराउँछन् । अहिले उनी दिन बिराएरजस्तो कुस्माबाट पोखरा आउँछन् । हातको थेरापी गराउँछन् र फेरि कुस्मा पुगेर सेटमा जोडिन्छन् ।
“चिकित्सकले त पूर्ण रुपमा ठिक नभएसम्म काममा नफर्किनु नै भनेको हो । तर, मेरै कारणले धेरै ढिलो भइसक्यो भनेर म सेटमा जाइन भएको हुँ,” विजय भन्छन्, “सजिलो पक्कै पनि छैन । तर पनि पोखरा जाँदै हातको थेरापी गराउँदै फेरी कुस्मा आएर सुटिङ गरिरहेको छु ।”
एकातिर हात पनि चाँडै ठिक होस् भन्ने चाहना एकातिर सुरु भएको काम पनि नअड्कियोस् भनेर काम गरिरहेको विजय बताउँछन् ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘सिन्दुरे जात्रा’मा विजय बराल तथा अञ्जना बराइली मुख्य भूमिकामा छन् । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुनेछ ।


