यस्तो छ ‘एक्टर’मा अभिनेता राजबल्लभ कोइरालाको लुक्स

कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले अर्को नयाँ पोस्टर सार्ववनिक गरेको छ । यसअघि यो सिनेमाका दुई वटा पोस्ट सार्वजनिक भएका थिए ।
सुरुवातमा फर्स्टलुक पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरेको थियो भने कालो टिसर्ट र लामो कपालमा देखिएका प्रदीप मात्रै प्रस्तुत भएको दोस्रो पोस्टर सार्वजनिक गरेको थियो । जहाँ उनी कसैको भौतिक आक्रमणमा परेको अनुहारभरि चोटैचोटमा देखिएका थिए ।
पोस्ट प्रोडक्सनमा रहेको यही सिनेमाबाट करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरेको छ ।
रोयल भिमसेनको कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा राजबल्लभ मात्र चित्रित छन् । पोस्टरमा सिगार सेवन गरिरहेका उनले प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप र राजवल्लभसँगै अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यही सिनेमाबाट डेब्यु गरेकी हुन् ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।
सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।