कलाकार नारद खतिवडासहित ३ जना पक्राउ
काठमाडौं । हास्य कलाकार नारद खतिवडा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनीसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका ५२ वर्षीय नारद प्रसाद खतिवडा, ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने उदयपुर कटारी नगरपालिका-८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा र नवलपरासी पश्चिम सुनौल नगरपालिका-७ तर्गौली घर भएका ५९ वर्षीय गोपाल कुमार गुरूङ रहेका छन् ।
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरू छुटाईदिने भनि ठगी गरेको अभियोगमा उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको प्रहरीले बताएको छ ।
अध्यागमन विभाग कालिकास्थानको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाईदिने भनि ९ लाख रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।


