एभरेस्ट फिल्म फेस्टिभलमा १० हजार डलर पुरस्कार, ‘एन्जिला’ उत्कृष्ट चलचित्र
काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेतालाई काठमाडौंमा आयोजित समारोहमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ ।
चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म भएको नेपाली चलचित्र सप्ताहमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक बन्दै २ हजार डलर प्राप्त गरे । ‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी ४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए । उनीहरूले जनही एक हजार डलर प्राप्त गरेका छन् ।
‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाकार र ‘होस्टेल ३’ले उत्कृष्ट सम्पादन विधामा जनही एक हजार डलर पुरस्कार प्राप्त गरे ।
डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले चलचित्रको मूल्यांकन गरेको आयोजकले जनाएको छ ।
पुरस्कार वितरणका लागि हलिउड निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो ।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले चलचित्रमार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने बताए ।


