छाउपडी प्रथा र सामाजिक चेतना झल्काउने ‘हली’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिम नेपालमा व्याप्त छाउपडी प्रथा र सामाजिक विभेदको गम्भीर विषयवस्तुलाई समेटेर निर्माण गरिएको चलचित्र ‘हली’ को ट्रेलर सार्वजनिक भएको छ ।
साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको निर्माण टिमले शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरले नेपाली समाजमा अझै पनि जकडिएर रहेको अन्धविश्वासलाई उजागर गरेको छ । ट्रेलरमा महिनावारी हुँदा बालिकालाई विद्यालय जानबाट रोकिने र पहिलोपटक महिनावारी हुँदा २१ दिनसम्म बुवा वा अन्य पुरुषको अनुहार हेर्न नहुने जस्ता पीडादायी सामाजिक कुरीतिलाई प्रस्तुत गरिएको छ ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्मात्री पूजा गुरुङले चलचित्र वास्तविक घटनाक्रमबाट प्रेरित रहेको बताइन् । उनले राजनीति र भाषणले मात्र देश नबदलिने तर्क गर्दै भनिन्, “देश परिवर्तन गर्न ठूला नेताको भाषण मात्र पर्खनु पर्दैन, समाजको एउटा सचेत ‘हली’ नै काफी छ। हामीले यसै वैचारिक क्रान्तिलाई सिनेमामा उतारेका छौँ ।”
त्यस्तै, चलचित्रका लेखक, निर्देशक एवं मुख्य कलाकार ओम प्रतीकले सामाजिक चेतनाको महत्वमाथि जोड दिए । उनले भने, “यदि मानिसको मस्तिष्क र चेतना फराकिलो छ भने पढाइमा पिएचडी नै गरिरहनु पर्दैन । पश्चिम नेपालको छाउप्रथाको यथार्थलाई हामीले यो फिल्मको मुख्य मेरुदण्ड बनाएका छौँ ।”
‘हली’मा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, विशाल पहाडी लगायतको अभिनय रहेको छ । निर्देशक ओम प्रतीक स्वयम् पनि मुख्य भूमिकामा देखिएका छन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । शान्ति श्री परियार र बाबुल गिरीको स्वर रहेको चलचित्रका गीतहरूले मौलिकता झल्काउँछन् ।
चलचित्रलाई राहुल राईले छायांकन गरेका हुन् भने रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल हुन् ।


