किन जोडिँदै छ मिलन नेवारको नयाँ गीतमा हर्क साम्पाङको पार्टी ?

काठमाडौं । काठमाडौं । गायिका मिलन नेवार र ‘द भ्वाइस अफ किड्स सिजन ५’ का उनका टप- ६ प्रतिस्पर्धीहरूको स्वरमा रहेको सन्देशमूलक गीत ‘घिन्ताङ घिन्ताङ मादलु’ केही दिनअघि सार्वजनिक भएको छ ।

राजनराज शिवाकोटीको संगीत रहेको सार्वजनिक गीतमा दिनेशराज शिवाकोटी र राजनराज कै शब्द रहेको छ ।

देश प्रेम, आफ्नो पहिचान र मातृभूमिप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर तयार गरिएको गीतका केही हरफले यतिबेला सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ ।

विशेषगरी ‘तिमीले माटोलाई चिनेमा’ भन्ने हरफलाई लिएर गायिका मिलन नेवारले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई समर्थन गर्दै गीत गाएको दाबी सामाजिक सञ्जाल, रील्स तथा टिकटक भिडियोमार्फत फैलिएको छ ।

यही विषयमा बोल्दै गायिका नेवारले गीत कुनै राजनीतिक उद्देश्यका लागि नभई आफ्ना प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई अझ निखार्ने र सकारात्मक सन्देश दिने उद्देश्यले तयार गरिएको बताएकी छन् ।

“आमा चिन्नु, माटो चिन्नु र देश चिन्नु भनेको नै आफ्नो पहिचान कायम राख्नु हो,” उनले भनिन्, “त्यसैले माटोको सुगन्ध मिसिएका सन्देशमूलक शब्दहरूसँगै मेरा प्रतिस्पर्धी भाइबहिनीहरूलाई ग्रुमिङ गर्दै लैजाने हेतुले यो गीत तयार गरिएको हो । हरेकले आफूलाई असल मानिस बनाउन सकेको खण्डमा यो देश आफैँ राम्रो बन्छ । यही नै गीतको मुख्य सन्देश हो ।”