‘कट’ हुनासाथ मोबाइल समात्ने कलाकार र संसदमा सेयर हेर्ने सांसद उस्तै हुन् : खगेन्द्र लामिछाने

काठमाडौं । संसद् बैठक चलिरहेका बेला सांसदहरूले सेयर कारोबार (ट्रेडिङ) गर्ने गरेको विषयले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा सेयर कारोबार नगर्न दिइएको निर्देशनप्रति चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले सांसदहरूको ध्यान व्यक्तिगत नाफा-घाटामा भन्दा देश निर्माणको बृहत्तर योजनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

लामिछानेले संसद् जस्तो गरिमामय ठाउँमा बसेर नीति निर्माणमा लाग्नुपर्ने जनप्रतिनिधिहरू सेयर बजारको उतारचढावमा अल्झिनु गम्भीर विषय भएको बताएका छन् । उनले सांसदहरूलाई प्रश्न गर्दै लेखेका छन्, ‘संसदीय बैठकमा सांसद ज्यूहरूको ध्यान नै सेयर बजारमा गयो भने देश निर्माणमा कसले ध्यान दिने ? यो विषय एकदमै टड्कारो बन्यो। कृपया त्यसो नगरौँ ।’

उनले अगाडि थपेका छन्, ‘माननीय ज्यूहरू, तपाईँहरूलाई जनताले देशको भविष्य कोर्न पठाएका हुन्, मोबाइलको स्क्रिनमा सेयरको मूल्य हेर्न होइन ।’

खगेन्द्रले राजनीतिज्ञहरूको यो प्रवृत्तिलाई फिल्म क्षेत्रको एउटा पुरानो समस्यासँग तुलना गरेका छन् । केही वर्षअघि सेयर बजार उच्च विन्दुमा पुगेका बेला फिल्म छायाङ्कनका क्रममा आफूले भोगेका अनुभव उनले स्मरण गरे ।

‘केही वर्ष अगाडि सेयर कारोबारबाट एकदमै फाइदा भइरहेको समयमा फिल्ममा काम गर्ने असिस्टेन्ट डाइरेक्टरदेखि कतिपय कलाकारसम्मको ध्यान काममा हुँदैनथ्यो,’ उनले लेखेका छन्, ‘निर्देशकले ‘कट’ भन्नेबित्तिकै सिर्जनात्मक छलफल गर्नुको साटो मोबाइल लिएर कुनामा गइहाल्ने र सेयरको भाउ हेर्ने प्रचलन निकै बढेको थियो ।’

उनका अनुसार कामप्रति हुनुपर्ने निष्ठा र एकाग्रतालाई सेयर बजारको नसाले नराम्ररी प्रभावित पारेको थियो ।

अहिले सेयर बजारमा आएको मन्दीका कारण फिल्मकर्मीहरूको ध्यान पुनः कामतिर फर्किएको उनको रोचक टिप्पणी छ उनले भनेका छन्, ‘अहिले सेयर बजार डाउन भएकोले फिल्मकर्मीको यसमा खासै रुचि देखिँदैन । सायद घाटा लाग्ने भएर होला, अहिले सुटिङ सेटमा सबै आ-आफ्नो काममा व्यस्त देखिन्छन् ।’

कुनै पनि पेसामा रहँदा त्यसको मर्यादा राख्नुपर्ने तर्क लामिछानेको छ । संसद् बैठकमा जनताका समस्या र कानुन निर्माणका विषयमा छलफल हुनुपर्नेमा सांसदहरू नै ‘इन्ट्रा-डे ट्रेडिङ’ मा लाग्नुले संसदीय गरिमा घटाएको भन्दै उनले सभामुखको कदमको स्वागत गरेका हुन् ।

प्रतिनिधिसभामा यसअघि नै सांसदहरूले बैठकको समयमा मोबाइलमा व्यस्त हुने र सेयर बजारका गतिविधि नियाल्ने गरेको भन्दै आलोचना भएपछि यस्तो कार्य नगर्न सचेत गराइएको थियो । लामिछानेको यो भनाइले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ भने धेरैले यसलाई ‘समयसापेक्ष र जायज’ प्रतिक्रियाका रूपमा टिप्पणी गरेका छन् ।