‘अक्षरा’ को टिजरमा सुशीलको उग्र रूप र न्यान्सीको रोदन
काठमाडौं । विवाहअघि केटाको कुल, खान्दान र आर्थिक हैसियत मात्र हेर्ने तर उसको स्वभाव र व्यवहारलाई बेवास्ता गर्ने सामाजिक प्रवृत्तिले कस्तो गम्भीर मोड लिन सक्छ ? यही गम्भीर प्रश्नको उत्तर बोकेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ ।
विनयराज पौडेलको निर्देशनमा निर्माण भएको यस चलचित्रको करिब २ मिनेट २ सेकेन्ड लामो टिजरले सिनेमाको मूल कथा र यसले उठाउन खोजेको मुद्दालाई प्रस्तुत गरेको छ ।
सार्वजनिक टिजरमा एक मध्यम वर्गीय परिवारले आफ्नी छोरीको विवाह एउटा धनाढ्य र प्रतिष्ठित परिवारमा गरिदिएको देखाइएको छ । तर, बाहिरबाट हेर्दा सुखी र सम्पन्न देखिने त्यो घरभित्रको वास्तविकता भने निकै भयावह छ ।
अभिनेता सुशील सिटौलालाई एक रक्स्याहा र श्रीमतीमाथि घरेलु हिंसा गर्ने उग्र चरित्रमा देखाइएको छ । उनले आफ्नो पारिवारिक घमण्ड र सम्पत्तिको आडमा श्रीमती (न्यान्सी खड्का) माथि गर्ने दुर्व्यवहार टिजरको मुख्य पाटो हो । यता, छोरीको खुसीका लागि मोटो रकम खर्च गरेर विवाह गरिदिएका बुबा (सुशील पोखरेल) छोरीको आँसु देख्दा निःशब्द र पश्चात्तापमा परेको दृश्य प्रस्तुत गरिएको छ ।
अभिनेत्री न्यान्सी खड्काले टिजरको अन्त्यतिर बोलेको संवादले पितृसत्तात्मक समाजमा छोरीको अस्तित्वमाथि प्रश्न उठाएको छ । उनले भनेकी छिन्, “कतिन्जेल नारीले मात्रै आफ्नो घर–थर सार्नुपर्ने? अरूलाई खुसी पार्ने बहानामा सधैँ आफू हार्नुपर्ने? छोरी भनेको अरूको घर जाने मात्र होइन बा, माइतीको टेको पनि हो। के म टेको बन्न पाउँदिन र बा?” यो संवादले फिल्मले छोरीलाई बोझ होइन, शक्तिको रूपमा देखाउन खोजेको संकेत गर्छ ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, रिस्ता अधिकारी, सुशील पोखरेलका साथै अंशु महर्जन, पुष्कर राउत, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।
यस चलचित्रमा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको छ । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको यस चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन् ।
यस चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन् ।
यस चलचित्र मा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत, अन्जु पन्त, समिक्षा अधिकारी, रचना रिमाल, एसडी योगीको स्वर, दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।




