एप्पल इन्टरटेन्मेन्टले ‘भिडियोटेप’ बनाउने, उपासना र कुन्दन मुख्य भूमिकामा
काठमाडौं । एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को घोषणा गरिएको छ ।
ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको फिल्म हरर जनराको हुनेछ ।
भदौ ५ गतेबाट उपल्लो मुस्ताङमा खिचिने चलचित्र ३० दिनसम्म छायांकन हुनेछ ।
यो फिल्ममा नायिका उपासना सिंह ठकुरीको साथमा नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।
फिल्ममा वशिष्ट प्रधानको डीओपी रहनेछ । कार्यक्रममा बोल्दै निर्देशक ओविदले भने, “म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले, आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक बिषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।”
नायिका उपासना सिंह ठकुरीले भनिन्ए, “एक वर्ष अगाडिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु ।”
नव–नायक कुन्दनले फिल्मलाई लिएर आफू निकै नै उत्साहित भएको बताए । फिल्मलाई ४ करोडको बजेटमा निर्माण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।




