प्रियंकाले ‘गुराँस फुल्दा’ को रि–क्रियसन गराएपछि असन्तुष्ट बनिन् सुस्मिता केसी
काठमाडौं । अभिनेत्री सुस्मिता केसीले आफ्नो २५ वर्ष अगाडि सार्वजनिक भएको गीत ‘गुराँस फुल्दा’ को रि–क्रियसन बारे कटाक्ष कसेकी छन् ।
सुस्मिता बुधबार सामाजिक सञ्जालमा ‘गुराँस फुल्दा’ गीतको पुरानो तथा नयाँलाई एकसाथ जोडेर दर्शकको मनमा वर्षौदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन भन्दै प्रियांकालाई कटाक्ष कसेकी हुन् ।
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ का लागि यो गीतलाई रि-क्रियसन गरिएको हो । तर सुस्मिताले यसलाई केवल ‘प्रयास’ को संज्ञा दिँदै यसमा भावना र जादुको अभाव रहेको संकेत गरेकी छन् ।
कुनै पनि सिर्जनालाई नयाँ आवरण दिन सकिए पनि त्यसको आत्मा वा मौलिक जादुलाई पुनः जीवित गर्न असम्भव हुने सुस्मिताको तर्क छ । साथै, उनले आफ्नो समयको सिर्जनाले आज पनि दर्शकको मन जितिरहनु नै वास्तविक सफलता भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ, तर दर्शकको मनमा वर्षौदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन ।’
प्रयास धेरैले गर्न सक्छन् तर त्यसको जादु छोड्ने सौभाग्य सबैलाई नहुने बताउँदै उनले लेखेकी छन्, ‘फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादु छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र ?’
गीत केवल गीत नभएर पुस्ताको सम्झनाको रूपमा रहेको उनको भनाइ छ । उनले अघि लेखेकी छन्,‘नयाँ आवरण दिन सकिन्छ, नयाँ प्रस्तुति दिन सकिन्छ, तर मौलिक जादुलाई फेरि उही रूपमा जन्माउन सकिँदैन ।’
मौलिक गुराँसको सुगन्ध अझै दर्शकको मनमा उत्तिकै रहने दाबी गर्दे उनले भनेकी छन्,‘आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ-सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठुलो जित हो ।’
यसअघि ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ चर्को विवादमा परेको थियो ।
सुस्मिताले लेखेकी छिन्:-
कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ…। तर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन । फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादू छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र ? सायद त्यसैले केही सिर्जना केवल ‘गीत’ हुँदैनन् । ती एउटा समयका साक्षी हुन्छन्, एउटा पुस्ताका सम्झना हुन्छन् र कलाकारको यात्रामा कहिल्यै नमेटिने अमूल्य पाना हुन्छन् । गुराँस फुल्दा बनै रमाइलो थियो…, त्यो गुराँस केवल फुलेको थिएन, दर्शकको मनमा बसेको थियो । नयाँ आवरण दिन सकिन्छ, नयाँ प्रस्तुति दिन सकिन्छ, तर मौलिक जादूलाई फेरि उही रूपमा जन्माउन सकिँदैन । किनकि फूल देखाउन सकिन्छ, तर सुगन्ध अभिनय गर्न सकिँदैन । आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ- सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठूलो जित हो । बाँकी कुरा त दर्शकको आँखाले, मनले र प्रतिक्रियाले आफैं भनिसकेको छ..। मलाई केही भन्नै पर्दैन ।




