‘ओल्ड इज गोल्ड’ले देखायो— पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्
काठमाडौं । पहिलो दिन प्रश्न थियो– वर्षौंअघि बनेका नेपाली चलचित्र फेरि ठूलो पर्दामा फर्काउँदा दर्शक आउलान् त ? सात दिनपछि त्यसको जवाफ कुनै भाषण वा घोषणाले होइन, भरिएका हल र दर्शकको निरन्तर उपस्थितिले दिएको छ ।
चलचित्र विकास बोर्डद्वारा आयोजित ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ बुधबार ‘जीवनरेखा’को प्रदर्शनसँगै सम्पन्न भएको छ । सात दिनसम्म चलेको शृंखलामा नेपाली चलचित्र इतिहासका विभिन्न कालखण्ड प्रतिनिधित्व गर्ने दस चलचित्र ठूलो पर्दामा प्रदर्शन गरिए ।
अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिएका थिए । दुवै चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति रह्यो । ‘जीवनरेखा’को प्रदर्शनसँगै सात दिनदेखि चलिरहेको नेपाली चलचित्र इतिहासको विशेष यात्रा औपचारिक रूपमा टुंगिएको हो ।
समापन कार्यक्रममा वरिष्ठ कलाकार शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टिका पहारी, सुष्मा शाही, निर्देशक लक्ष्मीनाथ शर्मा तथा नेपाली चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रभा ढकाललगायत विशिष्ट चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।
समापनको एउटा विशेष र सांकेतिक दृश्य भने पुरानो पुस्ताका चलचित्रकर्मीले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशीर्वाद दिएको क्षण बन्यो ।
समापन कार्यक्रममा चलचित्र ‘गौँथली’का प्रमुख कलाकार अरुण क्षेत्री र सिम्रन खड्का, निर्देशक डा। कपिल रिजाल तथा निर्माता सुमन गिरीलगायत चलचित्रकर्मीको उपस्थिति थियो । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् भने डा. कपिल रिजाल निर्देशक तथा सुमन गिरी निर्मातामध्ये एक हुन् ।
नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, वरिष्ठ अभिनेता शिव श्रेष्ठले अभिनेता अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक डा. कपिल रिजाललाई र वरिष्ठ कलाकार टिका पहारीले निर्माता सुमन गिरीलाई, बरिष्ठ कलाकार सन्तोष पन्तले वितरक करण क्रेजीलाई खादा लगाएर आशीर्वाद दिएका थिए ।
सात दिनसम्म पर्दामा नेपाली चलचित्रको इतिहास देखाइएको कार्यक्रमको अन्तिम क्षणमा त्यही इतिहास निर्माण गरेका अग्रजहरूले आजको पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर शुभकामना र आशीर्वाद दिनुले समापनलाई अझ अर्थपूर्ण बनायो ।
एकातिर पर्दामा ‘जीवनरेखा’ चलिरहेको थियो, अर्कोतिर नेपाली चलचित्रको पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो अनुभव, सद्भाव र आशीर्वाद हस्तान्तरण गरिरहेको थियो ।
‘ओल्ड इज गोल्ड’ अन्तर्गत सात दिनमा ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिए ।
कार्यक्रमको सुरुवात नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकारहरूको विशेष उपस्थितिमा भएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कलाकारहरूसँग तत्कालीन समयको चलचित्र निर्माण, अभिनय र नेपाली सिनेमाको यात्राबारे संवाद तथा सहजीकरण गरेका थिए ।
पहिलो दिनदेखि नै दर्शकको चाप उल्लेख्य रह्यो । कतिपय दर्शकले उभिएरै चलचित्र हेर्नुपर्ने अवस्था बनेको थियो । त्यो उत्साह पहिलो दिनमै सीमित रहेन । सातै दिन उत्तिकै भीडका साथ सिनेमा चलेको बोर्डले जनाएको छ ।




