विजय मल्लको उपन्यास ‘अनुराधा’ माथि चलचित्र बन्ने, ऋषि लामिछानेले निर्देशन गर्ने

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा साहित्यिक कृतिमाथि सिनेमा बनाउने लहर चलिरहेको छ । यस्तैमा वरिष्ठ साहित्यकार विजय मल्लको बहुचर्चित उपन्यास ‘अनुराधा’ माथि चलचित्र निर्माण हुने भएको छ ।

लामो समयदेखि नेपाली चलचित्र निर्माण र वितरणमा सक्रिय प्रदीप उदयले यो चलचित्र निर्माणको घोषणा गरेका हुन् । नेपाली साहित्यमा विशिष्ट स्थान राख्ने यो उपन्यासलाई रुपान्तरण गरी ठूलो पर्दामा उतार्ने जिम्मेवारी निर्देशक ऋषि लामिछानेले पाएका छन् ।

चलचित्रको नाम पनि उपन्यासकै नाम अनुसार ‘अनुराधा’ राखिएको छ । सामीप्यराज तिमल्सिनाले यसको पटकथा तथा संवाद लेख्नेछन् ।

सुशन प्रजापति सिनेमेटोग्राफर रहेको चलचित्रको छायांकन आगामी मंसिरको अन्तिम साता बाट सुरु हुने कार्यतालिका तय गरिएको छ । चलचित्रलाई तराईका समथर भूभाग र काठमाडौंका विभिन्न स्थानहरूमा खिचिने निर्माण टिमले बताइएको छ ।

चलचित्र ‘अनुराधा’ को मुख्य भूमिकामा कुन कलाकार देखिनेछन् भन्ने कुरालाई निर्माण पक्षले हाललाई गोप्य राखेको छ । ‘अनुराधा’ एउटा सशक्त महिला पात्रको वरिपरि घुम्ने कथा भएकाले पनि यो भूमिकामा कुन अभिनेत्रीले बाजी मार्नेछिन् भन्ने विषयमा सिने वृत्तमा निकै चासो र कौतुहलता उत्पन्न भएको छ ।

निर्माता उदयका अनुसार उचित समयमा कलाकारहरूको नामावली सार्वजनिक गरिनेछ ।

विजय मल्लको उपन्यास ‘अनुराधा’ नारी मनोविज्ञान र सामाजिक परिवेशलाई सुक्ष्म ढङ्गले चित्रण गरिएको कृति मानिन्छ ।

यसअघि पनि विजय मल्लको प्रख्यात नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित भएर वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा चलचित्र ‘कमला मिस’ निर्माण भएर प्रदर्शनमा आइसकेको छ ।