‘गौँथली’ले तोड्यो ‘१२ गाउँ’को रेकर्ड

काठमाडौं । चलचित्र ‘गौँथली’ले एकपछि अर्को कीर्तिमान रच्दै अगाडि बढेको छ । यसै क्रममा यो चलचित्रले एक्सन स्टार विराज भट्टको हिट चलचित्र ‘१२ गाउँ’ को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार बिहीबार मध्याह्नसम्म ‘गौँथली’ ले २१ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै ‘१२ गाउँ’लाई पछि पारेको हो ।

समिर भट्ट र विराज भट्ट अभिनित तथा विराज स्वयंले निर्देशन गरेको ‘१२ गाउँ’ को लाइफटाइम कलेक्सन १९ करोड ९२ लाख ७७ हजार ७ सय ६३ रुपैयाँ रहेको थियो ।

‘१२ गाउँ’ को रेकर्ड ब्रेक गरेसँगै अब ‘गौँथली’ को निशानामा सर्वाधिक कमाउने दोस्रो चलचित्र ‘कबड्डी ४’ परेको छ । ‘कबड्डी ४’ ले २१ करोड ४० लाख ७५ हजार ४ सय ९७ रुपैयाँ कमाइ सहित दोस्रो स्थानमा छ ।

तर, ‘गौँथली’को अहिलेको व्यापारिक रफ्तार हेर्दा आज साँझसम्ममै यसले ‘कबड्डी ४’ को रेकर्डलाई पनि उछिनेर इतिहास बनाउने निश्चित देखिएको छ ।

हालसम्म सर्वाधिक कमाउने पहिलो सूचीमा भने ‘पूर्णबहादुरको सारंगी’ छ । यसले ४६ करोड ८७ लाख ४१ हजार ४ सय ९७ रुपैयाँ कमाइ गरेको छ ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले दर्शकको अपार माया पाइरहेको छ । २८औँ दिनसम्म आइपुग्दा ७ लाख ८७ हजार ८ सय २६ दर्शकले यो फिल्म हेरिसकेका छन् ।

सकारात्मक समीक्षा र पारिवारिक दर्शकको बाक्लो उपस्थितिले गर्दा फिल्मको ग्रस कलेक्सन छिट्टै २५ करोड पुग्ने अपेक्षा गरिएको छ ।

डा. भोला रिजालको कथामा आधारित यस चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । घर, परिवार र आत्मीयताको कथा समेटिएको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रमा कार्यकारी निर्माता सरला रिजाल छिन् भने निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।