बलिउड सिनेमा ‘बटवारा १९४७’ नेपाल प्रदर्शन किन रोकियो ?
काठमाडौं । बलिउड सिनेमा ‘बटवारा १९४७’ तत्कालका लागि नेपाल प्रदर्शन रोक लगाइएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन अस्वीकार गरेपछि यो चलचित्रको प्रदशर्न रोकिएको हो ।
समितिले सिनेमा आपत्ति जनाएको छ । सम्भावित विवादित हुनसक्ने सिन काट्न समितिले निर्देशन दिएको थियो । तर, वितरकले नमाने पछि यसको प्रदर्शन तत्काललाई रोकिन पुगेको छ ।
चलचित्र जाँच समिति अध्यक्ष उदयबहादुर रानामगर, सदस्य सौरभ बस्याल, मनोज पण्डित, सन्तोषबाबु लोहनी र ममता बाँस्तोलाद्वारा हस्ताक्षरित निर्णयमा ‘प्रस्तुत चलचित्र जाँच गरि हेर्दा हालसालै नेपालमा घटेका घटनाक्रमलाई मध्यनजर गरी धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षामा खलल पार्ने तथा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएकाले देहायका विषय संसोधन गरि १६ वर्षभन्दा माथिका उमेर समूहका दर्शकले हेर्ने गरी सार्वजनिक प्रदर्शन गर्न अनुमति दिने निर्णय गरियो ।’ यो निर्णयसँगै यो चलचित्र आजबाट प्रदर्शन हुने भनिए पनि रोकिएको छ ।
वितरक ब्यांकटेस इन्टरटेनमेन्टले समितिले भनेअनुसारका दृश्य काट्न नसकिने बताएको छ । वितरकले कानुनी उपचार खोज्ने बताएको छ ।
‘बटवारा १९४७’ राजकुमार सन्तोषी निर्देशन गरेका छन् । सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहको प्रमुख भूमिका छ ।




