एक साता मै हलबाट बढारिए ‘कमला मिस’ र ‘हली’

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको बक्सअफिसमा यतिबेला एउटा निर्मम दृश्य देखिएको छ । एकातिर केही चलचित्रले करोडौँको व्यापार गरेर इतिहास रचिरहेका छन् भने अर्कोतिर एकैसाथ प्रदर्शनमा आएका चलचित्रहरू एक साता पनि टिक्न नसकी हलबाट विदा हुनुपर्ने अवस्था आएको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई चलचित्रमध्ये ‘कमला मिस’ देशैभरका हलबाट उत्रिसकेको छ भने ‘हली’को अवस्था पनि उस्तै देखिएको छ । हलहरूले यी चलचित्रलाई यसरी बढारेका छन् कि लाग्छ, यिनीहरू हलमा आएकै थिएनन् ।

शून्य प्रचारप्रसारका बीच प्रदर्शनमा आएको चलचित्र ‘कमला मिस’का लागि व्यावसायिक यात्रा निकै छोटो र कष्टकर रह्यो । प्रदर्शनको ६ दिनसम्म ५ प्रतिशत अकुपेन्सी पनि पुर्‍याउन नसकेपछि यो चलचित्र अहिले देशभरका हलहरूबाट पूर्णतः उत्रिसकेको छ । सुरुमा करिब ४० शो पाएको यस चलचित्रले दर्शकलाई हलसम्म तान्न त परै जाओस्, आफ्नो उपस्थितिसम्म महसुस गराउन सकेन । अन्ततः दर्शक अभावका कारण फिल्म हलबाट बढारिन पुगेको छ ।

प्रचारप्रसारमा कञ्जुस्याँई र कमजोर मेकिङको परिणाम कस्तो हुन्छ ? ‘कमला मिस’ यसको एउटा उदाहरण बनेको छ । हलमा लाग्नुअघि न यसको चर्चा थियो, न लागेपछि दर्शकको चासो । यो चलचित्रले दर्शक तान्न नसकेकै कारण हलहरूले उतार्नु नै श्रेयस्कर ठानेको देखिन्छ ।

त्यस्तै, अर्को चलचित्र ‘हली’को अवस्था पनि ‘कमला मिस’ को भन्दा खासै फरक छैन । प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा यो फिल्म देशभरका हलहरूमा अस्तित्व जोगाउन संघर्षरत छ । सुरुमा ५० को हाराहारीमा शो पाएको ‘हली’ दोस्रो सातामा आइपुग्दा (आज) देशभर जम्मा ३ शो मा खुम्चिएको छ ।

भोलि शनिबारका लागि त यसले देशभर जम्मा १ शोमा चित्त बुझाउनुपर्ने अवस्था छ । कमजोर ‘वर्ड अफ माउथ’का कारण यो चलचित्रको लगानी अब ‘बालुवामा पानी’ सावित भएको छ । सोमबार आउने बक्सअफिस रिपोर्टले यसको घाउमा नुन–चुक छर्कने निश्चित छ ।

पछिल्लो समय रिलिज भएका चलचित्रले दर्शक नपाइरहेका बेला ‘कमला मिस’ र ‘हली’ अघि प्रदर्शनमा आएका सिनेमाले ३४ करोड भन्दा धेरै ग्रसकलेक्सन गरेका छन् ।

साउन १ गतेबाट प्रदर्शनमा आएको गौँथली’ले २१ करोड ९० लाख ३४ हजार ५५३ रुपैयाँ ग्रसकलेक्सनको सानदार व्यापार गरिसकेको छ । जसले नेपाली बजारमा राम्रो फिल्मको लागि ठूलो सम्भावना रहेको प्रष्ट पार्छ ।

त्यस्तै, हलिउडको ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ ले पनि १४ करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सनको व्यापार गर्दै नेपाली बक्स अफिसलाई चलायमान बनाएको छ ।

सामान्यतया साउन महिनालाई चलचित्र क्षेत्रको ‘अफसिजन’ मानिन्छ । तर, यो वर्षको साउनमा बक्स अफिसको दृश्य विरोधाभासपूर्ण छ । एकातिर ‘गौँथली’ जस्ता चलचित्रले व्यापारको नयाँ उचाई छोइरहेका छन् भने अर्कोतिर ‘हली’ र ‘कमला मिस’ जस्ता फिल्मले लगानीको सानो हिस्सा पनि उठाउन सकेका छैनन् । यसले के प्रष्ट पारेको छ भने, दर्शक अब केवल चलचित्र हेर्न मात्र हल जाँदैनन्, उनीहरूलाई बलियो कन्टेन्टको आवश्यकता पर्छ । नेपाली चलचित्र निर्माताहरूका लागि आफ्नो सिनेमा हलमा लैजाँदा कस्तो परिणाम भोग्नुपर्छ भन्ने यी दुई चलचित्रको पछिल्लो अवस्थाले ऐना झैँ छर्लङ्ग पारिदिएको छ ।