‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी ऊनको स्वीटर’ घोषणा, भारतीय अभिनेता पीयूष पनि देखिने
काठमाडौं । गत वर्षको चौथो सुपरहिट चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला बन्ने भएको छ । शनिबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच निर्माण पक्षले यसको सिक्वेलको औपचारिक घोषणा गरेको हो ।
चलचित्रको दोस्रो भागको नाम ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ ।
नवीन चौहानको निर्देशन रहने यस चलचित्रमा अघिल्लो भागका मुख्य कलाकारहरू विपिन कार्की, मिरुना मगर, एलेक्स पारस (विश्वकर्मा) र परीक्षा लिम्बू नै दोहोरिने छन् ।
यो श्रृंखलामा भारतीय चलचित्र उद्योगका स्थापित अभिनेता, गायक तथा संगीतकार पीयूष मिश्राको उपस्थिति रहनेछ । निर्देशक चौहानले मिश्रा चलचित्रको एक महत्वपूर्ण पात्रको रूपमा जोडिएको जानकारी दिएका छन् । भारतीय रंगमञ्च र सिनेमामा आफ्नो बलियो छाप छोडेका मिश्राको आगमनले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
वि.सं. २०८२ को उत्कृष्ट चलचित्रको उपाधि समेत चुमेको ‘ऊनको स्वीटर’ ले नेपाली सिनेमामा फरक स्वाद पस्किएको थियो । सोही कथाको विरासतलाई अगाडि बढाउँदै निर्देशक चौहानले यसपटक विषयवस्तुलाई अझ फराकिलो बनाउने बताएका छन् ।
निर्देशक चौहानले भने, “हामीले यसपटक नयाँ पात्र, नयाँ अध्याय र नयाँ सम्बन्धहरूलाई समेट्ने प्रयास गरेका छौँ । ‘कलेजी ऊनको स्वीटर’ अघिल्लो भागको भावनासँग जोडिए पनि यसको प्रस्तुति र कथाको आयतन धेरै ठूलो हुनेछ ।”
निर्देशक चौहानका अनुसार, चलचित्रको दोस्रो भाग बनाउने प्रेरणा उनलाई सिक्किम भ्रमणका क्रममा मिलेको हो । सिक्किममा नेपाली चलचित्र र खासगरी ‘ऊनको स्वीटर’ प्रति दर्शकको जुन किसिमको क्रेज र रुची देखिएको थियो, त्यसले आफूलाई यसको दोस्रो श्रृंखला बनाउने आँट र ऊर्जा दिएको उनले उल्लेख गरे ।
विपिन, मिरुना र पीयूष मिश्राको नाम फाइनल भए पनि चलचित्रका अन्य कलाकारहरूको बारेमा भने निर्माण पक्षले अहिले गोप्य नै राखेको छ । अन्य कलाकार र प्राविधिक टोलीको बारेमा छिट्टै जानकारी दिइने बताइएको छ ।
सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रको छायांकन दशैंपछि सुरु गरिने बताइएको छ ।





