महिलाका कथा भन्ने रेखाले महिला कलाकार कै साथ पाइनन् ?
काठमाडौं । रेखा थापा महिला सशक्तिकरण र महिला शक्तिको कथा सिनेमामा उठाउने मेकर हुन् । उनी अभिनेत्री मात्रै हुँदा पनि यस्तै कथा रोजेर सिनेमा खेल्ने कलाकार हुन् ।
उनी आफैँ निर्माण र निर्देशनमा हुँदा पनि वुमन इम्पावरमेन्टका कथा सिनेमामार्फत भन्ने मेकर हुन् । सिनेमामार्फत केही सन्देश पनि दिन सकिन्छ र दिनुपर्छ भन्ने उनको उद्देश्य रहने गरेको उनले बताउँदै आएकी छन् ।
यसपटक रेखा आठ वर्षपछि निर्देशनमा फर्किइन् । यसपटक भने उनले सिनेमामा केही फरकपन दिन खोजिन् । यसपटक उनी बिसुद्ध प्रेम कथामा आधारित चलचित्र लिएर दर्शकमाझ आउँदैछिन् ।
प्रेम कथामै सिनेमा बनाउँदा पनि उनले केन्द्रमा भने महिलालाई नै राखेकी छन् । प्रायः सिनेमामा हिरोहरूको भीड लाग्ने गरेका बेला उनले भने महिला कलाकारहरू धेरै लिइन् । उनको चलचित्र ‘माया भनेकै यस्तो होला’मा सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठलाई लिइन् ।
आफैँ अरुका सिनेमामा मुख्य भूमिकामा लिड रोलमा काम गरिरहेका बेला रेखाले सृष्टि, नीति र नम्रतालाई मुख्य भूमिकामा लिएर यो चलचित्र बनाइन् ।
तर, उनको सिनेमा सिनेमा ‘माया भनेकै यस्तो होला’ यतिबेला एक्लिएको छ । अथवा सिनेमा रिलिजको संघारमा आइपुग्दा उनी आफूले मुख्य भूमिकामा लिएर काम गरेका हिरोइनले साथ नदिँदा एक्लिएकी छन् । उनी पोस्ट र सिनेमाको प्रचारमा एक्लै भिडिरहेकी छन् । तर, किन उनी एक्लिइन्, यसबारे भने उनले अहिलेसम्म मुख खोलेकी छैनन् । महिलाका कथा उठान गर्ने रेखालाई महिला कलाकारले नै किन साथ दिइरहेका छैनन् अथवा उनीहरु सिनेमाको प्रचारका लागि डटेर लाग्न बाँकी नै छ, त्यो भने हेर्न बाँकी नै छ ।
सुदीप बरालको सिनेमाटोग्राफी रहेको चलचित्र भदौ २६ गते रिलिज हुँदै छ । यो चलचित्रले प्रेममा परेकाहरू मात्र होइन, परिवारका सदस्यहरूलाई पनि हलसम्म तान्ने निर्माणपक्षको दाबी छ ।
‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् । यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।
चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।
यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।




