३२ दिन लगाएर सकियो ‘आशा’को छायांकन
काठमाडौं । चलचित्र ‘आशा’को छायांकन सम्पन्न भएको छ । राजिव गुरुङको निर्देशनमा निर्माण भएको सिनेमाको ३२ दिन लागाएर छायांकन सम्पन्न भएको हो ।
उडान स्टुडियोको प्रस्तुती रहेको चलचित्रको निर्मााण पक्षले निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिईन् । उनको अनुसार चलचित्रको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।
‘हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम जुट्दै छौँ । कलाकार र प्राविधिकहरूको मेहनत र कामको प्रतिफल नै हाम्रो योजना अनुरुप नै सबै काम सम्पन्न भएको छ । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।
चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।
चलचित्रमा निर्देशक गुरुङकै कथा रहेको छ ।
अभिनेता सारुक ताम्राकारको निधन भएपछि निर्माणकै क्रममा रोकिएको सिनेमा ‘ह्यासट्याग माया’का निर्देशक गुरुङ यो चलचित्र मार्फत तीन वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
चलचित्रमा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
रामकुमार श्रेष्ठ मुख्य सहायक निर्देशक रहेको चलचित्रका सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) रहेका छन् ।
यो चलचित्र आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गते प्रदर्शन हुनेछ ।




