karsang
Close Me

विष्णु माझीकी बहिनीको स्वर पनि विष्णुको जस्तै थियो, तर उनी पनि गुमनाम

काठमाडौं । यतिबेला गायिका विष्णु माझी सञ्चारमाध्यम र लोक तथा दोहोरीका स्रोतामाझ ‘हटकेक’का रुपमा छिन् । उनी बजारमा आउनु पर्दैन उनका गीत मात्रै आए पनि विष्णु माझी चर्चाको शिखरमा हुन्छिन् । मिडियाको साम्रग्रीका लागि ‘हटकेक’को विषय बन्छिन् ।

उनको तीज गीत यतिबेला भाइरल छ । त्यसैले पनि उनको अहिले चर्चा भइरहेको छ । विष्णु माझीका श्रीमान् गायक, संगीतकार तथा गीत रचना पनि गर्छन् । त्यसैले उनको घरमै संगीतको माहोल छ ।

तर, विष्णुको माइतीघरमा पनि सांगीतिक माहोल थियो ? यो प्रश्नको जवाफ पनि यतिबेला मिलेको छ । एउटा मिडियासँगको कुराकानीमा विष्णु माझीसँगै पाल्पा तथा बुटवलमा सुरुका दिनमा दोहोरी गाउने दोहोरी गायक नारायण लेकालीले विष्णु माझीकी बहिनी जीवन माझी भएको र उनी पनि दोहोरी गायिका भएको बताएका छन् ।

“विष्णु मात्र होइन, उनकी बहिनी जीवन माझी पनि उस्तै छुरा थिइन् गायनमा । विष्णुको भन्दा पनि उनकी बहिनीको राम्रो स्वर थियो । शब्दमा भने विष्णु माझी अगाडि हुन् । तर, स्वर जीवन माझीको विष्णुको भन्दा राम्रो थियो,” उनले भनेका छन् ।

जीवन पनि दोहोरी प्रतियोगितामा हिँड्ने गरेको नारायणले बताएका छन् । पाल्पाको रामपुरमा आयोजित दुई दोहोरी प्रतियोगितामा जीवन दोहोरी प्रतियोगितामा फर्ष्ट भएको नारायणले बताएका छन् । ती दुवै प्रतियोगिताको निर्णायक नारायण नै स्वय भएको उनले बताएका छन् ।

जीवनले दुईतीनवटा गीत रेकर्ड पनि रेकर्ड गराएको उनको भनाइ छ । नारायणका अनुसार जीवनको स्वर उनको दिदीको भन्दा राम्रो सुनियो ।

तर, त्यसपछि उनको विवाह भयो । अनि, घरगृहस्थीले किचेर गाउने मौका पाइनन् वा उनलाई यसमा जम्न मन लागेन उनी अहिले सांगीतिक उद्योगमा नै छैनन् । किन उनले गाउन छोडिन् त्यसमा आफूले चासो नदिएको नारायण बताउँछन् । अर्काको व्यक्तिगत विषय भएको आफूले त्यसबारे खोजी नगरेको उनको भनाइ छ ।