जुनु प्रसाईले ल्याइन् ‘झगडा पर्यो पोइसित’

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत र गायिका जुनु प्रसाईको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘झगडा पर्यो पोइसित’ सार्वजनिक भएको छ ।

भिडियोमा एउटा विवाहित जोडीको दैनिक जीवनमा हुने सानातिना झगडा, बोलचाल बन्द र अन्ततः हुने मिलनलाई कलात्मक रूपमा देखाइएको छ ।

पूर्वेली लोकलयमा तयार पारिएको गीतको भिडियोको सुरुवातमा श्रीमती (जुनु प्रसाई) टिकटक बनाउन व्यस्त देखिन्छिन्, जसलाई श्रीमान (प्रकाश सपुत)ले मन पराउँदैनन् । उनीहरूबीच सामान्य कुराबाट सुरु भएको झगडा ‘भुटेको मकै र मोही’ सम्म पुग्छ । श्रीमतीले मिठो खाजाको अपेक्षा गरे पनि श्रीमानले मकै र मोही ल्याइदिएपछि विवाद बढ्छ ।

झगडा यतिसम्म बढ्छ कि उनीहरूबीच बोलचाल नै बन्द हुन्छ । उनीहरूले एकअर्कासँग कुरा गर्नको सट्टा घरका भित्ता र ढोकामा कागजका टुक्राहरू (नोट्स) टाँसेर सञ्चार गर्छन् । श्रीमतीले आफ्नो पिरमर्का साथीभाइ र गाउँका जेष्ठ नागरिकहरूसँग गीत र नाचमार्फत व्यक्त गर्छिन् ।

यस्तै भिडियोमा श्रीमतीको व्यवहारबाट दिक्क भएर श्रीमानले घर छोडेर सहर जाने निर्णय गर्छन् । श्रीमानले झोला बोकेर निस्कन लाग्दा श्रीमतीलाई आफ्नो गल्तीको महसुस हुन्छ र उनले श्रीमानलाई रोक्छिन् । अन्त्यमा, उनीहरूबीच मेलमिलाप हुन्छ र हाँस्दै सँगै अगाडि बढ्छन् ।

यस गीतमा जुनु प्रसाई र राज सागरको स्वर रहेको छ । गीतका शब्दहरू विदुर तिमल्सिनाले लेखेका हुन् भने संगीत राज सागरको रहेको छ ।

मौलिक नेपाली गाउँले परिवेशलाई प्रस्तुत गरिएको भिडियो हरि हुमागाईंले निर्देशन गरेका हुन् । रोशन विश्वकर्माले कोरियोग्राफी गरेको भिडियोमा विशेषगरी तीजको सन्दर्भ र श्रीमान–श्रीमतीको ‘ठासठुस’ सम्बन्धलाई समेटिएको छ ।

सार्वजनिक भएको छोटो समयमै यस भिडियोले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । घरायसी झगडालाई ठूलो इस्यु बनाउनु भन्दा आपसी समझदारीमा सुल्झाउनुपर्छ भन्ने सन्देश भिडियोले दिन खोजेको छ ।