‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र र अडियन्स अवार्ड


काठमाडौं । घरेलु बजारमा रिलिजको संघारमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई अर्को अन्तर्राष्ट्रिय सफलता मिलेको छ । यो चलचित्रले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र र अडियन्स अवार्ड जितेको छ ।

कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी अवार्ड जित्दै ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रा तय गरेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग)’ले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म पुरस्कार जित्न सफल भएको हो ।

फिल्मले सोही फेस्टिभलमा अडियन्स अवार्ड पनि जितेको निर्देशक अविनाशविक्रम शाहले बताएका छन् । उनका अनुसार न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘तिनीहरू’का सबै प्रदर्शनहरू हाउसफुल भएका थिए ।

कान्समा जुरी अवार्ड जितेपछि फिल्मले विश्वका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक शाहले बताएका छन् ।

घरेलु बक्सअफिसमा रिलिज हुनै लाग्दा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितिरहँदा यसको प्रतीक्षा र हाइप पनि बढ्दै गएको छ ।

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।