टक्सिक र बाढीसँग नडराई रिलिज भयो ‘पार्वती’
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको ड्रिम प्रोजेक्ट मानिएको चलचित्र ‘पार्वती’ आज (शुक्रबार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
एकातिर दक्षिण भारतीय सुपरस्टार यशको सिनेमा ‘टक्सिक’को ठूलो क्रेज र अर्कोतिर हालैको बाढी-पहिरोले सिर्जना गरेको असहज परिस्थितिका बाबजुद ‘पार्वती’ले प्रदर्शन आरम्भ गरेको हो ।
निर्मात्री तथा निर्देशक नीता ढुंगानाले चलचित्रको पहिलो दिनको सम्पूर्ण कमाइ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने घोषणा गरेकी छन् । बाढी र पहिरोका कारण देश शोकमा रहेका बेला पीडितको घाउमा मलम लगाउन यो कदम चालिएको निर्माण पक्षको भनाइ छ ।
यसअघि नै नीताले व्यक्तिगत तर्फबाट उक्त कोषमा १ लाख रुपैयाँ सहयोग गरिसकेकी छन् ।
हलहरूमा यतिबेला दक्षिण भारतीय फिल्म ‘केजीएफ’ फेम स्टार यशको बहुप्रतीक्षित चलचित्र ‘टक्सिक: अ फेयरी टेल फर ग्रोन-अप्स’ बुधबारदेखि नै प्रदर्शन भइरहेको छ । झन्डै चार वर्षपछि पर्दामा फर्किएका यशको चलचित्रको दबदबा विश्वभर रहेका बेला ‘पार्वती’ले पनि आफ्नो बलियो उपस्थिति देखाउन खोजेको छ ।
चलचित्र ‘पार्वती’ एक सामाजिक विषयवस्तुमा आधारित फिल्म हो, जसमा नीता ढुंगानाले शीर्ष भूमिका निर्वाह गरेकी छन् । यस चलचित्रमा उनले ‘अटिजम’ भएकी एक पात्रको भूमिका निभाएकी छन् ।
नीता स्वयंको निर्देशन रहेको यस चलचित्रमा नीताका साथै अशोक दर्जीको विशेष भूमिका रहेको छ । साथै, दीपाश्री निरौला, राज पंगेनी, शिरू विष्ट, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय छ ।




