पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे

एजेन्सी । बलिउडका चर्चित र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै एक–अर्काबाट अलग भएको घोषणा गरेका छन् ।

सोमबार दुवैले आ–आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमार्फत एउटा वक्तव्य जारी गर्दै आफूहरू छुट्टिएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार यो निर्णय कुनै दबाबमा नभई दुवैको आपसी सहमति र समझदारीमा लिइएको हो ।

र्‍यापर बादशाहले आफ्नो पोस्टमा प्रशंसक तथा सञ्चारमाध्यमलाई यो संवेदनशील समयमा आफ्नो गोपनीयताको ख्याल गरिदिन अनुरोध गरेका छन् । उनले सम्बन्धविच्छेदको विषयमा थप स्पष्ट पार्दै लेखेका छन्, ‘हाम्रो यो निर्णय आपसी सहमतिमा लिइएको हो । हामी सबैलाई यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन र हाम्रो भावनाको कदर गरिदिन आग्रह गर्दछौं ।’

बादशाहले अगाडि लेखेका छन्, ‘यस विषयमा यो हाम्रो पहिलो र अन्तिम आधिकारिक वक्तव्य हो । त्यसैले हाम्रो सम्बन्धलाई लिएर भविष्यमा कुनै पनि प्रकारका अड्कलबाजी वा अनुमान नगरिदिनुहुन हामी विशेष अनुरोध गर्दछौं ।’

अभिनेत्री ईशा रिखीले पनि बादशाहकै जस्तो आसयको पोस्ट आफ्नो इन्स्टाग्राम स्टोरीमा साझा गर्दै अलग भएको पुष्टि गरेकी छन् । पञ्जाबी चलचित्र उद्योगमा स्थापित नाम बनिसकेकी ईशाले सन् २०१८ मा फिल्म ‘नवाबजादे’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त फिल्ममा उनले राघव जुयाल, पुनीत पाठक र धर्मेश येलान्डे जस्ता कलाकारसँग स्क्रिन सेयर गरेकी थिइन् ।

लामो समयको प्रेम सम्बन्धपछि यो जोडीले यसै वर्ष गत मार्चमा विवाह गरेका थिए । सुरुमा गोप्य राखिएको उनीहरूको विवाहको खबर ईशाले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । यद्यपि, विवाहपछि पनि यो जोडीले सार्वजनिक रूपमा एक–अर्काका बारेमा निकै कम मात्र चर्चा गर्ने गरेका थिए । उनीहरूले आफ्नो निजी जीवनलाई सधैं चर्चाको विषयभन्दा टाढा राख्न खोजेका थिए ।

यो बादशाहको दोस्रो सम्बन्धविच्छेद हो । यसअघि उनले सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए । जैस्मिन र बादशाहको एक छोरी (जेसेमी ग्रेसी सिंह) समेत छिन् । जैस्मिनसँगको सम्बन्धमा खटपट आएपछि सन् २०२० मा उनीहरू कानुनी रूपमा अलग भएका थिए ।
दोस्रो विवाह पनि पाँच महिनामै टुङ्गिएपछि बादशाहका प्रशंसकहरू यतिबेला अचम्मित बनेका छन् ।