चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा शर्मा नियुक्त
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सर्वोच्च नियामक निकाय ‘चलचित्र विकास बोर्ड’ले नयाँ प्रशासनिक नेतृत्व पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
गत भदौ ११ गते तत्कालीन अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) आफ्नो दुईवर्षे कार्यकाल पूरा गरी बिदा भएपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । बोर्डको दैनिक प्रशासनिक कार्य र अत्यावश्यक निर्णयहरूलाई गति दिन मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि शर्मालाई यो जिम्मेवारी दिएको हो ।
मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालका अनुसार मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले सहसचिव शर्मालाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो । “बोर्डको कामकारबाही नरोकियोस् भन्नका लागि अर्को व्यवस्था नभएसम्म उहाँलाई जिम्मेवारी दिइएको हो,” पौड्यालले बताए ।
जिम्मेवारी पाएसँगै शर्माले बुधबारदेखि नै चाबहिलस्थित बोर्डको कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् ।
दिनेश डिसीको बहिर्गमनपछि बोर्डले नयाँ अध्यक्ष पाउने अपेक्षा गरिए पनि केही समय रिक्त रहन पुग्यो । मन्त्रालयका अनुसार सचिवको अनुपस्थिति र मुलुकमा आएको बाढी-पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण नयाँ नियुक्ति प्रक्रिया सुरु गर्न केही ढिलाइ भएको हो ।
सूचना अधिकारी पौड्यालले थपे, “सचिवज्यू बाहिर हुनुभएको र बाढीपहिरोको संकटका कारण प्राथमिकता केही मोडिएको थियो । अब परिस्थिति सामान्य बन्दै गएकाले छिट्टै नयाँ अध्यक्षको खोजी सुरु हुनेछ ।”
मन्त्रालयले अबको केही समयभित्रै बोर्डको स्थायी अध्यक्षका लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ । सरकारले पछिल्लो समय सरकारी निकायहरूमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने नीति लिएकाले विकास बोर्डमा पनि सोही प्रक्रिया अपनाइनेछ ।
बोर्डको १८ औँ अध्यक्षका रूपमा दिनेश डिसीले आफ्नो कार्यकाल पूरा गरेपछि अब १९ औँ अध्यक्षका रूपमा को आउला भन्नेमा चलचित्रकर्मीहरूमाझ चासो बढेको छ ।




