फ्राइडे रिलिज : ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ आजबाट हलमा

काठमाडौं । चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजबाट प्रदशर्नमा आएको छ । विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएको यो सिनेमा आजबाट घरेलु दर्शकमाझ प्रदशर्नमा आएको हो ।

बुधबार भएको नेपाल प्रिमियरमा पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन पाएको सिनेमाले राम्रो संख्यामा शो पाएको छ । सिनेमाले उठाएको विषय, मेकिङ र अभिनयमा तारिफ बटुलेको सिनेमाले राम्रो व्यापार गर्नेमा निर्माण टिम विश्वस्थ छ ।

सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथालाई हात्तीको बिम्वसँग जोडेर बुनिएको सिनेमाको कथाले दर्शकलाई बाँधेर राख्ने र दर्शकलाई मन पर्ने सिनेमा हेर्नेहरूको प्रतिक्रियाले निर्माण टिम उत्साहित छ ।

“सिनेमा हेरेर हामीलाई एकदम राम्रो प्रतिक्रिया आएको छ । यस्तै प्रतिक्रिया हातबाट पनि आउने हाम्रो आशा छ,” निर्देशक अभिनास विक्रम शाह भन्छन्, “विश्वको ठूला फेस्टिभलमा रुचाइएको सिनेमाले हाम्रा दर्शकको पनि मन जित्छ भन्नेमा हाम्रो विश्वास छ ।”

कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरुमा पुगेर अवार्ड समेत जितिसकेको चलचित्र ‘तिनीहरू ; एलिफेन्ट्स इन द फग’ लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन् । निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ ।

कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।