अविनाश विक्रम शाह भन्छन्– फेस्टिभलमा गएका सिनेमा बक्सअफिसमा पनि सफल छन्

काठमाडौं । कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा पुगेर अवार्ड समेत जितिसकेको अविनाश विक्रम शाहले निर्देशन गरेको चलचित्र ‘तिनीहरु : एलिफेन्ट्स इन द फग’ यतिबेला देशभर प्रर्दशनरत छ ।

यो चलचित्र कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको थियो । शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरु : एलिफेन्ट्स इन द फग’ले प्रिमियरदेखि नै दर्शक र समीक्षकबाट निकै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

हलमा पुगेका दर्शकहरूले चलचित्रको प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन् । नेपाली सिनेमाको स्तरबारे सोच्न बाध्य बनाएको बताउँदै उनीहरूले यदि तपाईँ फरक स्वाद र गहिरो अर्थ बोक्ने सिनेमाको खोजीमा हुनुहुन्छ भने ‘तिनीहरु’ एउटा अनिवार्य हेर्नुपर्ने चलचित्र बनेको बताउँछन् ।

हलमा देखिएको दर्शकको उपस्थिति र उनीहरूले दिएको उत्कृष्ट प्रतिक्रियाले निर्माण टिमको विश्वासलाई थप बल पुर्‍याएको छ ।

निर्देशक अविनाश विक्रम शाहले नेपालमा इन्टरनेशनल फिल्म फेस्टिभलमा गएका चलचित्र बक्सअसिफसमा नचल्ने भन्ने गलत भाष्य रहेको बताउँछन् । तर, निटक विगतले नै यसलाई गलत प्रमाणित गरिरहेको तथ्य भने धेरैले बिर्सिरहेको उनको भनाइ छ ।

“नेपालमा इन्टरनेशनल फिल्म फेस्टिभलमा गएका चलचित्र चल्दैनन् भन्ने गलत भाष्य जबरजस्ती सेट गरिएको छ । तर, त्यो वास्तवमा गलत हो,” निर्देशक शाह भन्छन्, “गत वर्षमा फर्किएमात्रै पुग्छ, धेरै अगाडि जानै पर्दैन ।”

उनले चलचित्र ‘गाउँ आएको बाटो’ र ‘शाम्बाला’तर्फ संकेत गरे । नवीन सुब्बा नर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ले घरेलु बक्स अफिसमा ४ करोड १९ लाख ९० हजार ३५९ रुपैयाँ कलेक्सन गरेको थियो । मीन भाम निर्देशित ‘शाम्बाला’ले घरेलु बक्स अफिसमा २ करोड १२ लाख २२ हजार ३५१ रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

यो तथ्यांकले फेस्टिभल सिनेमा नेपाली बक्सअफिसमा रुचाइँदैन भन्ने गलत सावित गरेको उनको तर्क छ । उनले घरेलु बक्सअफिसमा नै हिट भएको ‘कालो पोथी’ पनि स्मरण गरे ।

“यी सिनेमा पक्कै पनि नेपाली सिनेमाका ब्लकबस्टर सिनेमा होइनन् । तर, घरेलु दर्शकले रुचाएका पक्कै हुन्,” निर्देशक शाह भन्छन्, “आर्ट बेसका मुभी हतार नगरी कथा भन्ने भएकाले यसमा कथा भन्ने शैली पक्कै फरक हुन्छ । तर, यसलाई रुचाइएको छैन भन्ने होइन । रेकर्ड होल्डर सिनेमा बन्न नसके पनि दर्शकले मन पराइरहेका छन् भन्न सकिन्छ ।”

अधिकांश सिनेमा लाख र केही हजारकै बक्सअफिसमा सीमित भइरहेका बेला फेस्टिभल सिनेमाले करोडौं कलेक्सन गर्नुलाई सकारात्मक रुपमा लिनुपर्नेमा उनको जोड छ । त्यसैले जबरजस्ती गलत चित्रण गर्न नहुने उनी बताउँछन् ।

“फेस्टिभल सिनेमाहरू चल्दैनन् भन्ने भाष्य ‘तिनीहरू’ले चिर्छ भनेर अहिले नै ठोकुवा गर्न त सकिँदैन । तर, चिर्नुपर्छ । सबैको साथ पायो भने चिर्न सक्छ भन्नेचाहिँ हो,” उनले भने, “फेस्टिभलमा गएको फिल्म नेपालमा चल्दै चल्दैन भन्ने कुरा पनि मलाई त्यति सही लाग्दैन ।”

“हामीले प्रतिशतको हिसाबले हेर्ने हो भने ३–४ वटा नेपाली फिल्म फेस्टिभलमा गए र त्यसमध्ये २–३ वटाले नेपालमा राम्रो व्यापार गरेका छन् भने त्यसलाई ‘फेस्टिभल गएको फिल्म चल्दैन’ भन्न मिल्छ र ?”, उनी भन्छन्, “फेस्टिभल नगई सिधै नेपालका हलमा रिलिज हुने फिल्महरूमध्ये पनि त सबैले राम्रो व्यापार गर्दैनन् । केहीले गर्छन्, केहीले गर्दैनन् । त्यसैले फेस्टिभलमा गएको वा नगएको भन्दा पनि फिल्म कस्तो छ, दर्शकसँग कत्तिको जोडिन्छ र दर्शकले त्यसलाई कत्तिको साथ दिनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो ।”

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।