५४ हजार ७ सय ३५ जनाले हेरे चलचित्र ‘पार्वती’, अहिलेसम्म कति कमायो ?

काठमाडौं ।  नीता ढुङ्गानाद्वारा निर्देशित चलचित्र ‘पार्वती’ले सुखद् व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार भदौ १२ गते रिलिज भएको ‘पार्वती’ले २१ गतेसम्ममा घरेलु बक्सअफिसमा डेढ करोड रूपैयाँको आँकडा पार गरेको हो ।

रसुवा भोटेकोसी बाढीको प्रभाव रहिरहेकै बेला प्रदर्शनमा आएको चलचित्रले एक करोड ५८ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । उक्त कमाइ हुँदा सिनेमाका ५४ हजार ७ सय ३५ वटा टिकट बिक्री भएका छन् ।

‘पार्वती’को पहिलो दिनको कलेक्सन रकम बाढीपीडितलाई सहयोग गरिएको थियो । चलचित्रको टिमले गत सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पहिलो दिनको कमाइ ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका थिए ।

निर्माण टिम यो चलचित्र हलमा रहुन्जेल हुने कूल आम्दानीको ५ प्रतिशत रकम पनि निरन्तर बाढीपीडितलाई नै प्रदान गर्ने बताएको छ ।

‘पार्वती’मा मुख्य कलाकारमा नीता र अशोक दर्जी छन् । चलचित्रको निर्देशक र कथाकार नीता आफैँ हुन् ।

अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा दिदी र भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई देखाउन खोजिएको छ । चलचित्रमा नीताले अटिमजम भएकी महिलाको पात्र निभाएकी छन् ।

नीता ढुङ्गानाको निर्देशन, कथा तथा पटकथा रहेको यस चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रमा नीताका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी र राधिका कँडेल लगायतको अभिनय रहेको छ ।

नीता फिल्मस प्रोडक्सन प्रा.लि. निर्माण भएको यस चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको चलचित्रको डीओपी दीप बराल रहेका छन् ।