७३ हजार बढीले हेरे चलचित्र ‘पार्वती’, पछिल्लो साताको कमाइ ४७ लाख
काठमाडौं । प्रदर्शनको तेस्रो सातामा आइपुग्दा नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’ले घरेलु बक्सअफिसमा २ करोड रुपैयाँको आँकडा पार गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘पार्वती’ले भदौ २८ गतेसम्म २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ ग्रस कमाएको हो । यो अवधिसम्म चलचित्रका ७३ हजार २२३ टिकट बिक्री भएका छन् ।
‘पार्वती’ले पछिल्लो साता थप ४७ लाख १ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ । यसअघि भदौ २२ गतेसम्म चलचित्रको कमाइ १ करोड ५८ लाख ८४ हजार रुपैयाँ थियो ।
घरेलु बक्सअफिसमा यस वर्ष २ करोड रुपैयाँभन्दा बढी कमाउने चलचित्रको सूचीमा ‘पार्वती’ चौथो बनेको छ । यसअघि ‘परालको आगो’, ‘लालीबजार’ र ‘गौँथली’ले २ करोडको आँकडा पार गरिसकेका छन् ।
रसुवा भोटेकोसी बाढीको प्रभाव रहिरहेकै समयमा प्रदर्शनमा आएको ‘पार्वती’को पहिलो दिनको कमाइ भने बाढीपीडितको सहयोगमा खर्च गरिएको थियो । चलचित्रको टिमले गत सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पहिलो दिनको कमाइबाट ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको थियो ।
निर्माण टिमले चलचित्र हलमा प्रदर्शनमा रहुन्जेल हुने कुल आम्दानीको ५ प्रतिशत रकमसमेत निरन्तर बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
अटिजम भएकी एक महिलाको जीवनकथालाई केन्द्रमा राखिएको ‘पार्वती’मा दिदी–भाइबीचको प्रेम, आत्मीयता र संघर्षलाई प्रस्तुत गरिएको छ । चलचित्रमा निर्देशकसमेत रहेकी नीता ढुङ्गानाले अटिजम भएकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।
नीता ढुङ्गानाको निर्देशन, कथा तथा पटकथा रहेको चलचित्रको लेखन शिवम् अधिकारीले गरेका हुन् । चलचित्रमा नीतासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय छ ।
नीता फिल्मस प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेका छन् भने दीप बराल डीओपी हुन् ।


