‘कार्की साइँला’को अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित चलचित्र ‘कार्की साइँला’को देशैभरका हलहरूमा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई प्रारम्भिक चरणमा ६० भन्दा बढी शो प्रदान गरिएको छ । निर्देशक बस्नेतका अनुसार दर्शकको चाप बढेसँगै शो संख्या अझै थपिनेछ ।
भारी बोक्ने भरियाको जीवन, विवाह, सन्तानको खुसी, गाउँलेको हेपाइ र दोस्रो विवाहको कथावरिपरि घुमेको यस फिल्ममा जितु नेपाल मुख्य भरियाको भूमिकामा देखिएका छन्।
जितु नेपाल र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ भने सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।
बालकुमार राईको लगानी र कृष्ण भगत चाम्लिङको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन् ।


