‘देवी’को रेड कार्पेट प्रिमियर, सिनेमाले उठाएको विषयको प्रशंसा (तस्बिरहरू)

शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘देवी’को बुधबार काठमाडौँमा रेड कार्पेट प्रिमियर गरिएको छ। यस प्रिमियरमा चलचित्र क्षेत्रका थुप्रै कलाकार तथा फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो।

सिनेमाका प्रमुख कलाकार शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक सञ्जोग राई सहभागी रहेको चलचित्रको प्रिमियर शोमा अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर, तथा निर्देशक सौरभ चौधरी लगायत उपस्थित भएका थिए।

सिनेमा हेरेपछि निर्देशक सौरभ चौधरीले ‘देवी’को कन्टेन्टलाई विशेष महत्त्वपूर्ण मानेका छन्। उनले फिल्म समाजमा भैरहेका बलात्कारका घटनाहरू र कानुनी प्रणालीको प्रभावलाई सूक्ष्म रुपमा उठाएको बताएका छन्। चौधरीले यस फिल्मलाई कुनै पनि निर्देशकले निर्माण गर्न चाहने विषय रहेको र यसमा सबै कलाकारले आफ्नो भूमिका निकै राम्रोसँग निभाएको बताए। चलचित्रले यथार्थता प्रस्तुत गर्ने प्रयास भएको र यसले दर्शकलाई अस्वाभाविक अनुभूति नदिने निर्देशकको भनाइ थियो।

अभिनेत्री सृष्टि श्रेष्ठले सिनेमाको विषयवस्तुले आफूलाई भावुक बनाएको बताइन्। उनले नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो भए पनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव रहेको र ‘देवी’ले समाजलाई झकझक्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्। अभिनेत्री लुनिभा तुलाधर र मेनुका प्रधानले पनि यो चलचित्रलाई बढीभन्दा बढी दर्शकले हेरेर यसबारे बहस चलाउनु पर्नेमा जोड दिइन्।

अभिनेता कर्मा शाक्यले ‘देवी’ले गम्भीर विषयलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको र यसले आफ्नो मन छोएको बताए।

चलचित्रका निर्देशक र कलाकारहरुले पाँच वर्ष लामो मिहिनेतको प्रतिफल प्रिमियरमा दर्शकले दिएको सकारात्मक प्रतिक्रिया भएको बताएका छन्। निर्देशक सञ्जोग राईले फिल्म रिलिज पछि विभिन्न ठाउँमा विशेष प्रदर्शन गरी समाजमा चेतना फैलाउने योजना रहेको पनि खुलासा गरे।

‘देवी’ क्राइम थ्रिलर जनरामा निर्माण गरिएको चलचित्र हो। फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। एक्जिबिट स्टुडियोको प्रस्तुति र बाँसुरी फिल्म्ससँगको सहकार्यमा बनेको यस चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको एक्सन निर्देशन सन्जेन थापाले गरेका छन् भने रेमन गुरुङ र सञ्जोग राई निर्माता रहेको यो चलचित्रमा कार्यकारी निर्माता जावेद खान छन्।