प्रदीप खड्का क्रिएटिभ प्रोड्युसर रहेको ‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा प्रदर्शन हुने

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी अक्टोबर ९ अर्थात् असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रलाई नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहकार्यमा तयार पारिएको हो ।

चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता तथा निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ ।

चलचित्र निर्माणमा भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागको समेत सहयोग रहेको निर्माण पक्षले जनाएको छ ।

सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङलाई केन्द्रमा राखिएको छ । सुरुङभित्र केही पात्र देखाइएको पोस्टरले चलचित्रको कथावस्तुमा रहस्य, भय र अलौकिक घटनालाई प्राथमिकता दिइएको संकेत गर्छ । चलचित्रको अंग्रेजी शीर्षक ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’ ले पनि यसको मुख्य कथावस्तु हरर तथा जम्बी संसारसँग जोडिएको संकेत गर्छ ।

चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन् । चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन् ।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन् । प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो । यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरिसकेका छन् ।

चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा रहेका छन्।

चलचित्रको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो । चर्चित संगीतकार तेर्डसाक जानपानले चलचित्रको पृष्ठभूमि संगीत तयार पारेका छन् । करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन् भने रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन् । चलचित्रको दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो ।

चलचित्रको नेपाल व्यवस्थापन लिभेन्ट्स स्टुडियो प्रा.लि.ले गरेको छ भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन् ।

‘टनेल २६’को टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो । निर्माण पक्षका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको समेत ध्यान खिचेको छ ।

अब निर्माण टिमले सेप्टेम्बर २२ मा सार्वजनिक हुने ट्रेलरमार्फत चलचित्रको कथावस्तु, पात्र र यसको हरर संसारबारे थप जानकारी बाहिर ल्याउने तयारी गरिएको छ ।

नेपाल र भुटानमा प्रदर्शनपछि चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी निर्माण पक्षको छ । एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ तीन देशको सहकार्यमा निर्माण भएको आफ्नो किसिमको पहिलो चलचित्र भएको निर्माण टिमको दाबी छ । चलचित्रले नेपाल र भुटानको मौलिक परिवेशसँग जोडिएको हरर कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ ।