अशोक दर्जी भन्छन्– म थाकिसकेँ, म गरिब हुनु नै मेरो कमजोरी भयो

काठमाडौं । गायक अशोक दर्जीले आफू थाकिसकेको भन्दै थप गाली नगर्न आग्रह गरेका छन् । गरिब हुनु नै आफ्नो कमजोरी सावित भएको उनले बताएका छन् ।

आफू अब सोझो बाटोमा हिँड्ने पनि उनले बताएका छन् । पढ्ने उमेरमा परिवारको जिम्मेवारी बोक्नु परेको उनले बताएका छन् ।

दसैँ तिहार आएको तर आफूसँग खर्च गर्ने पैसा नभएको पनि उनले बताएका छन् ।

“कहिले काँही मलाई लाग्छ, कुनै कुनै बच्चाहरूमा यस्तो जोस, पैसा कमाउने जोस पनि आउँदो रहेछ । यति म धनी परिवारको छोरा भएर जन्मेको थिएँ भने सायद आज म हुने पनि थिएन होला,” अशोक फेसबुकमा लामो स्टाटस लेख्दै भन्छन्, “तर सानैदेखि एउटा गरिब परिवारको परिवारमा जन्मेर होला, धेरै दुःख कष्ट सहेर आउनु पर्यो ।”

अशोकको स्टाटस जस्ताको तस्तै :
जीवनमा जे हुनु थियो धेरै चिज भइसकेको छ । मेरो लाइफमा मैले हार पनि खाएँ, जीतेँ पनि, फेरि लडेँ पनि । मेरो जीवनमा धेरै चिज भयो । आज म सडकको बच्चा सडकमै छु । मेरो यात्रा दिन त्यस्तै नै छ । हार खान सिकेको छैन, आत्म बल छ, लडिराखेको छु । यत्रो सानो उमेरमा समाजको माया पाएको छु, समाजको मायालाई सधैँ संगाल्ने छु, अझै गरेर देखाउनु छ, समाजको लागि ।

समाजले मेरो लागि धेरै सपनाहरू देख्नुभएको छ । अशोकले केही गर्छ भन्ने । त्यो सपनालाई मैले साकार गर्नु छ मलाई अगाडि बढ्नु छ, मैले मेरो परिवार भाइबहिनीलाई पाल्नु छ, अब दसैँ तिहार आउँदैछ, खर्च कसरी चलाउने, आउँदै गरेको दिनहरूलाई कसरी टाल्ने, पैसा कसरी कमाउने, पढ्नु पर्ने उमेरमा, पैसाको भोक छ । कहिले काँही मलाई लाग्छ, कुनै कुनै बच्चाहरूमा यस्तो जोस, पैसा कमाउने जोस पनि आउँदो रहेछ । यति म धनी परिवारको छोरा भएर जन्मेको थिएँ भने सायद आज म हुने पनि थिएन होला । तर सानैदेखि एउटा गरिब परिवारको परिवारमा जन्मेर होला, धेरै दुःख कष्ट सहेर आउनु पर्यो ।

तर म गरिबको छोरा हो भनेर मलाई दुःख छैन, किनभने गरिब हुनु हाम्रो गल्ती हैन । यो त सबैको आफ्नो आफ्नो भाग्य हो । अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला, तर म लड्छु, आफैं उड्छु, म आफ्नो कामहरू गर्छु । अब मैले आफ्नो सङ, आफ्नो गीतहरू लिएर आउँदा फेरि सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला ।

सबै दर्शकहरूलाई मेरो हिर्दय देखि धेरै माया छ, सबै मलाई सहयोग गर्ने, मलाई साथ दिने, मेरो गुरु, मेरो परिवार हरू सबैलाई पनि माया छ । तपाईँहरूको सधैँ राम्रो होस्, तपाईँहरूलाई मैले दुःख पनि दिए होला, तर मैले जीवनमा कहिले पनि नराम्रो काम गरेको छैन । म कसैको लागि गुड लक पनि रहेछु, सबै आफ्नो आफ्नो कर्मले अगाडि, ठूलो हुनु भएको रहेछ । हो पनि, मिहिनेत गरेपछि फल पकै पनि राम्रो हुन्छ, म यहाँ सम्मा पुग्नु पनि मेहनत को फल हो मबाट केही गल्ती, मबाट केही मिस्टेक भएको छ भने, जानी नजानी भको पनि होला, मलाई माफ गरिदिनु होला ।

अब चाहिँ म थाकिसकेँ, म धेरै नै थाकिसकेँ । अब मेरो लाइफलाई म स्ट्रेट तरिकाले लाग्ने छु । मेरो यात्रामा मलाई सधैँ साथ दिनु होला । मैले गरेको कामहरूलाई माया गरिदिनु होला, मलाई त्यति भए हुन्छ मेरो जीवन मै चलाउनु सक्छु । मलाई माया गर्न हुने सम्पूर्ण दर्शक लाई मन देखि धेरै आभारी जताउन चाहे सधैं यसरी नै साथ् दिनु होला धन्यवाद । आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ । धन्य, एउटा घर छ, जुन हजुरहरूकै सहयोगबाट बनेको हो। अनि कसैले दिनुभएको अधिया जग्गा छ । धन्य भगवान्ले हेरिरहनुभएको छ, मेरो लाइफमा पनि कुनै दिन केही राम्रो होला भन्ने आशा छ ।

आज मैले मेरो मनको कुरा मात्र भनेको हुँ । मैले कसैलाई दोष दिन खोजेको होइन, न त कसैलाई नराम्रो भन्न खोजेको हुँ । यदि मैले केही गल्ती गरेको छु भने मलाई माफ गरिदिनुहोला । मैले गरेको कामलाई मन पराइदिनुहोला र मलाई निरन्तर साथ दिनुहोला । मेरो कुरा बुझिदिनुहुने सबैलाई मनदेखि नै धेरै धेरै धन्यवाद ।