सन्तोष र रोहित फेरि वाकयुद्धमा उत्रिए, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप लगाउँदै

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेन र निर्माता रोहित अधिकारीबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप सुरु भएको छ । यी दुईबीच गत वर्षको दशैंमा आफ्ना चलचित्रको प्रदर्शनलाई लिएर पनि सार्वजनिक रूपमा वाकयुद्ध भएको थियो ।

उक्त समयमा जब रोहितको ‘माइतीघर’ र सन्तोषको ‘बलिदान’ एकआपसमा भिडे त्यतिबेला पनि यी दुई निर्माता आमनेसामने भए । त्यतिबेला पनि दुवै पक्षका अभिव्यक्ति फिल्मको प्रचारसँगै विवादको विषय बने । अहिले फेरि उनीहरूको पुरानो विवाद सतहमा आएको छ ।

मंगलबार बिहान सेनले निर्माता अधिकारीलाई ‘कुटिल मानसिकता भएको व्यक्ति’को संज्ञा दिएपछि अधिकारीले पनि सेनमाथि गम्भीर आरोप लगाउँदै जवाफ फर्काए ।

चलचित्र ‘छ माया छपक्कै २’ को आज सार्वजनिक हुन लागेको गीतको पोस्टर सेयर गर्दै सन्तोष सेनले फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले फिल्ममा लगानी गर्ने व्यक्तिको मानसिकतामाथि प्रश्न उठाउँदै अप्रत्यक्ष रूपमा रोहित अधिकारीतर्फ संकेत गरेका थिए ।

सेनले लेखेका छन्, “यसमा लगानी गर्ने व्यक्तिको रूपमा जोडिने व्यक्ति कुटिल मानसिकता भएको मान्छे हो । तर कसैको सिर्जना एक जना व्यक्तिको कारणले मर्नु हुँदैन । सबैले त्यही मानसिकताबाट सोच्ने हो भने असली कला नै मर्दै जान्छ ।”

उनले ‘छ माया छपक्कै २’सँग जोडिएका दीपकराज गिरी, दीपाश्री निरौला र दीपेन्द्र लामाको कलायात्राको प्रशंसा गर्दै उनीहरूलाई साथ र हौसला दिनुपर्ने धारणा राखेका छन् ।

सेनको उक्त अभिव्यक्तिपछि रोहित अधिकारीले कमेन्टमार्फत प्रतिक्रिया दिएका छन् । उनले सेनलाई लक्षित गर्दै अरूको पैसा खाएर नतिरेको आरोप लगाएका छन् ।

रोहितले लेखेका छन्, “तँ झारे होस्, कुटिल दुनियाँको पैसा खाएर लुकेको छस् । ठूलो कुरा नगर । पैसा तिर । मलाईसमेत मेसेज आएको छ, प्रमाणसहित । तैंले पैसा खाएको कोरियादेखि मिडिलइस्टसम्मको ।”

विवादमा रोहितले लगाएको आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । यता उनले उक्त कमेन्ट हाल डिलिट गरिसकेका छन् ।

यसरी हेर्दा सेन र अधिकारीबीचको सम्बन्धमा देखिएको तिक्तता नयाँ नभई समय–समयमा फिल्म र व्यवसायिक विषयसँग जोडिँदै सार्वजनिक रूपमा देखिँदै आएको देखिन्छ ।