सुन्दरताको परिभाषा दिँदै म्युजिकल फिल्म ‘ब्युटिफूल’
काठमाडौं । म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक गरिएको छ । करिब ७ मिनेट लामो म्युजिकल भिडियोमा समीर आचार्य र अञ्जुली हमालको स्वर छ । फिचरिङ शिभान्सी खड्काको छ ।
शब्द र संगीत पनि समीर स्वयंको छ ।
भिडियोमा शिभान्सी खड्काको अभिनय छ । रोशन विश्वकर्माको कोरियोग्राफी छ । प्रविन भट्टको सम्पादन रहेको भिडियो अनिल मानन्धरले खिचेका हुन् । भिडियो निर्देशन सुनिल बिकले गरेका छन् ।
म्युजिकल फिल्मले आवरणमा सुन्दरता खोज्ने समाजको कमजोर चेतनामाथि प्रश्न उठाएको छ । मेकअप गरेर सेतो छाला देखाएर त्यही नै सुन्दरता हो भन्ने समाजप्रति औँला उठाएको म्युजिकल फिल्मले असली सुन्दरता आवरणमा नभएर व्यक्तिको सोच र कर्ममा हुने प्रस्ट पारेको छ ।
वास्तविकता छोपेर देखाइने चम्किलो अनुहारलाई नै सुन्दरता मान्नु भ्रम मात्रै भएको सन्देश दिन म्युजिकल फिल्मले भ्रमको पछि नलाग्न सुझाएको छ ।
जो आफ्नो मेहनत, परिश्रम र लगावले कर्म गरेर स्वाबलम्बी बन्छ, यही नै असली अर्थमा मिस नेपाल भएको गीतको निष्कर्ष छ ।




