‘टनेल २६’को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ।
चलचित्र आगामी असोज २३ गतेदेखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका भुटानी तथा नेपाली निर्माता सहभागी थिए भने कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोलीसमेत नेपाल आएको थियो ।
सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । डिजास्टर जनरामा निर्माण भएको चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ ।
चलचित्रलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ ।
चलचित्रको छायांकन करिब १०० दिनसम्म सञ्चालन भएको थियो । कथाको भौगोलिक परिवेश र दृश्यात्मक आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्म गरिएको छायांकनले निर्माण टिमको विस्तृत तयारी र प्रतिबद्धता देखाउने निर्माण पक्षको भनाइ छ ।
ट्रेलरमा सुरुङभित्रको दुर्घटना, त्यसपछि सिर्जना हुने संकट र त्यसबाट उत्पन्न परिस्थितिलाई केन्द्रमा राखिएको छ । दृश्य प्रभाव तथा भीएफएक्समा गरिएको कामले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको स्वरूप दिने प्रयास गरिएको देखिन्छ ।
‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन् । खड्काले चलचित्रको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान दिएका छन् ।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन् । यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ। प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो । यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए ।
ट्रेलर रिलिज कार्यक्रममा निर्माता निर्वाण चौधरीले फिल्म निर्माणमा आफूपनि साझेदार भएर अगाडी बढ्न पाउँदा खुसी लागेको बताए । उनले बुबा बिनोद चौधरीले चार दशक अघि फिल्म निर्माण गरेको स्मरण गराउँदै अब आफूले पनि फिल्म निर्माणमा निरन्तरता दिने बताएका थिए ।
बिशेषगरी निर्वाणले नेपाल र भुटानको टिम बनेर काम गर्न पाउँदा आफू उत्सुक भएको बताए । क्रिएटिभ निर्माताको रुपमा रहेको अभिनेता प्रदीप खड्काले निर्वाण चौधरी र भुटानमा निकै उत्कृष्ट काम गरिरहेका कलाकार, प्राविधिकसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले यस फिल्ममा आफू निर्माताको रुपमा मात्र रहेको र कलाकार नरहेको पनि स्पष्ट पारे ।
मुख्य कलाकार तथा अर्का निर्माता सङ्गे छेल्ट्रिमले बलिउड मात्र हैन हलिउडस्तरकै फिल्म बनेको भन्दै ढुक्कका साथ सबैलाई फिल्म हेर्न आग्रह गरे । उनले नेपाल र भुटानको टिम बनेर काम गर्दा यति राम्रो बनेको समेत उल्लेख गरे ।




